एकसय किलोवाट विद्युत्का लागि साढे चार करोड लगानी

इनेप्लिज २०७२ असोज २७ गते १३:४६ मा प्रकाशित

jumla_nepal-mapजुम्ला, २७ असोज । एकसय किलोवाट विद्युत् उत्पादनका लागि सदरमुकाम जुम्लाको जवानदी ठिन्के लघुजलविद्युत् आयोजनामा रु साढे चार करोड लगानी गरिने भएको छ ।

आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँले रु दुई करोड ५५ लाख अनुदान सहयोग गर्ने भएको छ । त्यसैगरी, रु एक करोड जिल्ला विकास समिति जुम्ला र रु ८० लाख चन्दननाथ नगरपालिकाले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाँकी रकम उपभोक्ताले व्यहोर्ने निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । सोमबार प्रशासन कार्यालय जुम्लामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको हो ।

आयोजना निर्माणको टिआरसी पास वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गत जेठमा नै गरिसकेको थियो । त्यसको प्राविधिक सहयोग तथा सहजीकरण आस्था नेपालले गर्ने साना जलविद्युत् उपभोक्ता समिति जुम्लाका अध्यक्ष विष्णुबहादुर बूढ्थापाले बताउनुभयो ।

आव ०७२÷०७३ मै आयोजना सञ्चालन गर्न आस्था नेपाल क्षेत्रीय कार्यालय सुर्खेतले दसैँतिहारलगत्तै टेण्डर प्रक्रियालाई अगाडि बढाउने आस्था नेपाल जुम्ला संयोजक निमबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया