स्व. गुरुङको सम्मानमा शोक प्रस्ताव पारित

इनेप्लिज २०७२ असोज २७ गते १३:३३ मा प्रकाशित

chandra-bahadur-gurungकाठमाडौँ, २७ असोज । व्यवस्थापिका–संसद्ले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री एवम् पूर्वसभासद् चन्द्रबहादुर गुरुङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

संसद्को आजको बैठकले पूर्वसभासद् गुरुङको निधनमा सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको हो । उहाँको सम्झनामा बैठकले १ मिनेट मौन धारणसमेत गरेको थियो ।

अघिल्लो व्यवस्थापिका–संसद्मा उक्त पार्टीको तर्फबाट संसदीय दलका नेताका रुपमा कुशलतापूर्वक जिम्मेवारी सम्हाल्नुभएका ६१ वर्षीय गुरुङको अर्बुदरोगको उपचारका क्रममा यही असोज १६ गते अमेरिकाको कालोराडोमा निधन भएको थियो ।

गुरुङ नेपालको राजनीतिमा सिद्धान्तनिष्ठ र प्रखर वक्ताका रुपमा चिनिन्छन् ।

बैठकले उहाँको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदनासमेत प्रकट गरेको छ । व्यवस्थापिका–संसद्को अर्काे बैठक भोलि दिउँसो ३ बजे बस्नेछ ।

प्रतिक्रिया