बुधबार, मंसिर १० २०७७
काठमाडौं ११:२९
वासिङटन डिसी 00:44

सभामुख र उपसभामुखद्वारा पदबाट राजीनामा

इनेप्लिज २०७२ असोज २७ गते ९:२७ मा प्रकाशित

subash-nemwangकाठमाडौं, २७ असोज । सभामुख सुवासचन्द्र नेम्वाङ र उपसभामुख ओनसरी घर्तीले पदबाट राजीनामा दिनुभएको छ ।

बुधबार नेम्वाङले उपसभामुख ओनसरी घर्तीसमक्ष राजीनामा बुझाउनुभएको हो भने उपसभामुख घर्तीले नेम्वाङसमक्ष राजीनामा बुझाउनुभयो । व्यवस्थापिका संसदले आजदेखि नयाँ सभामुख चयनको प्रक्रिया अगाडि बढाउने भएपछि सभामुख नेम्वाङ र उपसभामुख घर्तीले राजीनामा दिनुभएको हो ।

व्यवस्थापिका संसदको कार्यसंचालन नियमावली-२०७० अनुसार सभामुखले उपसभामुख समक्ष र उपसभामुखले सभामुखसमक्ष राजीनामा बुझाउनुपर्छ । सभामुख र उपसभामुख दुवैले राजीनामा दिएपछि संसदको जेष्ठ सदस्यले बैठक संचालन गर्ने नियमावलीमा उल्लेख छ ।

संसद सचिवालयका अनुसार सभामुखको निर्वाचनको लागि बिहीबार उम्मेदवारी दर्ता गराउने र शुक्रबार निर्वाचन गर्ने तयारी रहेको छ । संविधानको धारा २९९ (२) मा संसद बैठक आह्वान भएको २० दिनभित्र नयाँ सभामुख र उपसभामुख चयन भइसक्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया