एक लाखको ‘पत्रकार कल्याणकारी कोष’ स्थापना

इनेप्लिज २०७२ असोज २५ गते ४:०१ मा प्रकाशित

Documentary-BHAGYALE-BAACHEKAHARU-FINAL-POSTER-202x300खोटाङ, २५ असोज । वृत्तचित्र प्रदर्शन गरेर जम्मा भएको रकमबाट खोटाङमा ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गरिएको छ ।

प्रेस चौतारी नेपाल खोटाङको पहलमा ‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्र प्रदर्शन गरेर जम्मा भएको रकमबाट रु एक लाख बराबरको कल्याणकारी कोष खडा गरिएको हो ।

जिल्लामा क्रियाशील पत्रकारहरुमाथि आइपर्नसक्ने आर्थिक समस्यालाई समाधान गर्ने उद्देश्यले कल्याणकारी कोष खडा गरिएको प्रेस चौतारी नेपाल खोटाङका अध्यक्ष हरिवोल आचार्यले बताउनुभयो ।

“पत्रकारहरुका लागि आइपर्नसक्ने समस्या समाधान गर्न हालसम्म जिल्लामा कुनै कोष छैन ।” उहाँले भन्नुभयो – “त्यसैले तत्काल उद्धार तथा सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले ‘पत्रकार कल्याणकारी कोष’ खडा गरिएको हो ।”

प्रेस चौतारी नेपालका केन्द्रीय सचिव गणेश पाण्डेले निर्माण गर्नुभएको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ च्यारिटी–शोबाट रु तीन लाख ५० हजारभन्दा बढी सङ्कलन भएको आचार्यले जानकारी दिनुभयो । गत वैशाखमा गएको विनाशकारी भूकम्पको समयमा भाग्यबस बाँच्न सफल नेपालीको कथालाई समेटेर तयार पारिएको वृत्तचित्र असोज–२२ र २३ गते दिक्तेलमा प्रदर्शन गरिएको थियो ।

विदेशमा पनि प्रदर्शन गरिसकिएको ५५ मिनेट लामो वृत्तचित्रमा भूकम्पका बेला धरहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि सो भूकम्पमा परेर बाँच्न सफल सात नेपालीको कथालाई समेटिएको छ ।

प्रतिक्रिया