क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी, खानेपानीको समेत अभाव

इनेप्लिज २०७२ असोज २५ गते ३:५७ मा प्रकाशित

jail-650x250ताप्लेजुङ, २५ असोज । क्षमताभन्दा झन्डै चारगुणा बढी कैदीबन्दी भएपछि ताप्लेजुङ कारागारमा रहेका कैदीबन्दीलाई समस्या भएको छ । २५ जनाको क्षमता रहेको कारागारमा अहिले १०८ जना कैदीबन्दी पुगेपछि सुत्ने बस्ने ठाउँ साँघुरो हुन थालेको छ भने खानेपानीको समेत अभाव हुने गरेको छ ।

क्षमताभन्दा बढी भएपछि सानो ठाउँमा धेरैजना कोच्चिएर बस्नुपर्ने बाध्यता रहेको कारागार प्रमुख मेघराज भारतीले बताउनुभयो ।

साँघुरो ठाउँमा धेरैजना कोच्चिएरै बस्नु परेपछि खान बस्न नै सहज छैन भने पर्याप्त पानी नहुँदा पानी खान साथै सरसफाइ गर्न पनि समस्या भएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या आइरहने भए पनि धेरै पुरानो मानिएको यो कारागारको पहिलेको अवस्थामा भएका संरचनामा कुनै ठूलो परिवर्तन आएको छैन । केही कैदीबन्दीलाई इलाम, सुनसरीमा स्थानान्तरण गरिए पनि अझै यस कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । दिनानुदिन कारागारमा कैदीको सङ्ख्या बढ्दै गए पछि समस्या थपिँदै गएको प्रति विभागले चासो नदिएको सरोकारवालाको भनाइ छ ।

कैदीबन्दीको उपचार नै उधारोमा गर्नुपर्ने समस्या भोग्दै आएको यस कारागारको पुनःनिर्माणका लागि विभागसँग अनुरोध गरे पनि हालसम्म यस सम्बन्धमा कुनै आश लाग्दो प्रतिक्रिया नआएको भारतीले बताउनुभयो ।

प्रतिक्रिया