तीन दलीय एकता कायम भएमात्र संविधान कार्यान्वयन

इनेप्लिज २०७२ असोज २५ गते ३:५४ मा प्रकाशित

चितवन, २५ असोज । प्रधानमन्त्रीको निर्वाचनमा दुई ध्रुवमा देखिए पनि तीन ठूला राजनीतिक दलबीचको एकतालाई कायम राख्दै संविधान कार्यान्वयनमा अघि बढ्नुपर्नेमा यहाँका दलका नेताहरुले जोड दिएका छन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा निर्वाचित भइसकेपछि प्रतिक्रिया दिँदै उनीहरुले प्रमुख विपक्षी दलको भूमिकामा रहेर नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा बनेको संविधान कार्यान्वयनको पक्षमा लाग्नुपर्नेमा जोड दिए ।

तीन दलीय एकताबाट जुन उपलब्धि देशले पाएको छ यसलाई संस्थागत गर्न आउँदा दिनमा दलहरुका बीचमा एकता अपरिहार्य रहेको पनि उनीहरुले बताएका छन् ।

नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले आफ्नो नेतृत्वमा बनेको संविधान कार्यान्वयनमा सहयोगी भूमिकामा काँग्रेस लाग्नुपर्नेमा जोड दिनुभयो ।

दुई तिहाइ मतका लागि काँग्रेस निर्णायक शक्ति भएको भन्दै उहाँले प्रमुख विपक्षीको भूमिकामा रहेर सरकारलाई सहयोग गरी देशलाई आर्थिक समृद्धितर्फ लैजानु पर्ने बताउनुभयो ।

नेकपा (एमाले) चितवनका अध्यक्ष जगन्नाथ थपलियाले प्रजातान्त्रिक अभ्यासमा हारजित स्वाभाविक भएको भन्दै असल विपक्षीको भूमिकामा रहेर काँग्रेसले सरकारलाई सहयोग गर्नुपर्ने धारणा राख्नु भयो ।

चुनौतीहरु थपिएको भन्दै उहाँले त्यसको सामनाका लागि सरकारको नेतृत्वदायी भूमिकामा रहने प्रधानमन्त्रीले पनि विपक्षी काँग्रेसलाई समेटेर लैजानुपर्ने बताउनुभयो । संविधान जारीसँगै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने अवस्थामा तीन ठूला दल एक भएर अघि बढ्नुपर्ने अध्यक्ष थपलियाको भनाइ छ ।

एकीकृत नेकपा (माओवादी) विपक्षीमा रहँदासमेत सत्ताधारी दुई दलसँग जुन ढङ्गको सहकार्य र एकताका साथ नेपालले संविधान पायो त्यसलाई संस्थागत गर्नका लागि अहिले काँग्रेसको भूमिका महत्वपूर्ण हुनुपर्ने माओवादी नेताहरुको भनाइ छ ।

एकीकृत नेकपा (माओवादी) चितवनका अध्यक्ष यमबहादुर परियारले राष्ट्रवादी शक्तिहरुका बीचको एकताले नै देश समृद्धितर्फ जाने भन्दै उहाँले तीन दलीय शक्ति संविधान जारी गर्ने समयको जस्तै गरी सङ्गठित हुनुपर्ने बताउनुभयो । देशमा देखिएका सङ्कट मोचनका लागि सत्तामा रहेका र प्रमुख विपक्षीको भूमिका निर्वाह गर्ने काँग्रेसका बीचमा सहकार्य जरुरी रहेको उहाँको भनाइ छ ।

वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका प्रमुख डा केशवभक्त सापकोटा अहिलेको परिस्थिति सामान्य नभएको भन्दै अप्ठ्यारो अवस्थामा सत्तामा र बाहिर रहने सबै शक्तिबीचमा मेल हुन नसके समस्याले निकास नपाउने बताउनुहुन्छ ।

बुद्धिजीवी परिषद् चितवनका सल्लाहकार प्राध्यापक कपिल सुवेदीले संविधान कार्यान्वयनको चरण सुरु भएको भन्दै मधेसवादी दलहरुले समेत संविधानलाई स्वीकार गरी निर्वाचन प्रक्रियामा सहभागी हुनु सुखद रहेको बताउनुभयो ।

प्रतिक्रिया