स्नातकोत्तर भवन निर्माणको कार्य अलपत्र

इनेप्लिज २०७२ असोज २४ गते ४:३५ मा प्रकाशित

खजुरा (बाँके), २४ असोज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्नातकोत्तर तहको पढाइ सञ्चालनका लागि भवन निर्माणको कार्य अलपत्र परेको छ ।

सन् २००६ मा निर्माणको सम्झौता भएको स्नातकोत्तर भवन नौ वर्ष पुग्दासमेत निर्माण कार्यले गति लिन सकेको छैन् ।

सम्झौताअनुसार दुई वर्षभित्र भवनको निर्माण सम्पन्न हुनुपर्ने थियो । भवन निर्माणका लागि थानी जगदम्बा निर्माण कम्पनीसँग रु एक करोड ९८ लाखको सम्झौता भएको थियो ।

भारतीय दूतावासले भवन निर्माणका लागि सहयोग गरेको उक्त रकम गत फागुनमा नेपालगन्ज उपमहानगरपालिकामा आएको थियो ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रमुख मोहनजङ्ग शाहले भवन निर्माणका लागि प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकको ध्यानाकर्षण गराइएको बताउनुभयो ।

उहाँले नेपालगन्ज उपमहानगरपालिकाले आलटाल गर्दा पनि भवन निर्माणले गति नलिएको बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी प्रमुख विष्णुप्रसाद भुसालले भवन निर्माणको काम तत्काल अघि बढ्ने बताउनुभयो ।

निर्माण कम्पनीले काम अगाडि बढाउने लिखित प्रतिबद्धता जनाइसकेको छ, उहाँले भन्नुभयो – “वर्षायामको समय र कामदार पनि नपाइएको निर्माण कम्पनीको भनाइ छ, तत्काल काम अघि बढाउन निर्देशन दिएका छौँ ।”

मध्य तथा सुदूरपश्चिमका विद्यार्थीलाई पठनपाठनमा सहज हुने भए पनि लामो समयसम्म स्नातकोत्तर भवन निर्माण नहुँदा विद्यार्थीले आक्रोश पोख्न थालेका छन् ।

प्रतिक्रिया