नयाँ संविधानबारे शान्ति समितिका पदाधिकारीलाई अनुशिक्षण

इनेप्लिज २०७२ असोज २३ गते ४:२१ मा प्रकाशित

इलाम, २३ असोज । नेपालको संविधानको समग्र जानकारी गराउने उद्देश्यले स्थानीय शान्ति समिति इलामले निर्वाचन क्षेत्रस्तरीय अनुशिक्षण कार्यक्रम सुरू गरेको छ ।

संविधानमा गरिएका नयाँ प्रावधान र अन्तरिम संविधानबाट समेटिएका विषयका बारेमा जानकारी गराउन शान्ति समितिले जिल्लाका २४ गाविस र एक नगरपालिकामा अनुशिक्षण कार्यक्रम सुरू गरेको हो ।

‘शान्तिका लागि सहकार्य, सबैका लागि सम्मान’ भन्ने नाराका साथ शुक्रबार देउमाई नगरपालिका २ नं निर्वाचन क्षेत्रस्तरीय संविधानसम्बन्धी अनुशिक्षण सम्पन्न गरिएको समिति इलामका कार्यालय सचिव डीकेन्द्र इदिङ्गोले जानकारी दिनुभयो ।

क्षेत्रस्तरीय अनुशिक्षणमा जिल्लाका सोयाक, बाँझो, साँखेजुङ, शान्तिडाँडा, चमैता, सिद्धीथुम्का, जीतपुर गाविसका शान्ति समितिका संयोजक तथा पदाधिकारी गरी ६० जनाको सहभागिता रहेको थियो ।

संविधानले प्रदत्त गरेका हकअधिकार, मौलिक हक, राज्यको नीति निर्देशक, सिद्धान्त, विभिन्न आयोग, सङ्घीयतालगायतका विषयमा नागरिकलाई सुसूचित गराउने उद्देश्यका साथ स्थानीय शान्ति समिति गठन भएका गाविस र नगरपालिकामा अनुशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

विविध कारणले अहिलेसम्म जिल्लाका ४३ गाविस र तीन नगरपालिकामध्ये १९ गाविस र दुई नगरपालिकामा स्थानीय शान्ति समिति गठन हुन सकेको छैन ।

कार्यक्रममा मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह प्याग नेपालका कार्यक्रम निर्देशक प्रकाश अधिकारी, मानवअधिकार मञ्च नेपालका उपाध्यक्ष वीरबहादुर खड्का र पुनरावेदन अदालत बार एसोसिएसनका मदन खड्का र समितिका पूर्व संयोजक होम दुलालले नयाँ संविधानका बारेमा जानकारी गराउनुभएको थियो ।

स्थानीय शान्ति समितिले निर्वाचन क्षेत्र नं २ को देउमाई नगरपालिका, क्षेत्र नं १ को फिक्कल र क्षेत्र नं ३ को इलाम नगरपालिकामा अनुशिक्षण कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव इदिङ्गोले बताउनुभयो ।

प्रतिक्रिया