अप्परमाई हाइड्रोको काम ९८ प्रतिशत सम्पन्न

इनेप्लिज २०७२ असोज २१ गते २:५८ मा प्रकाशित

a74c14cd1410262e1a6f5bbec0cf9843इलाम, २१ असोज । माईभ्याली हाइड्रोपावर प्रालिद्वारा इलामको मावु र माइमझुवा गाविसमा निर्माणाधीन अप्परमाई हाइड्रोको काम ९८ प्रतिशत सम्पन्न भएको छ ।

दसैँ तिहारबीचमा काम सम्पन्न गरेर विद्युत् उत्पादन सुरु गर्ने हाइड्रोपावर कम्पनीले जनाएको छ । दश मेगावाट क्षमताको यो आयोजना थालिएको करिब छ वर्षपछि सम्पन्न हुन लागेको हो ।

हेडबक्स, टनेल, पावरहाउसलगायतका महत्वपूर्ण काम सकेर अहिले तार टाँग्ने काम दु्रत गतिमा अघि बढाइएको आयोजनाका शङ्करमणि प्रधानले जानकारी दिनुभयो । आयोजना निर्माणका क्रममा बन्द, हडताल र भौगोलिक विकटताका कारण समयमै काम सम्पन्न गर्न समस्या परेको आयोजनाले जनाएको छ ।

पावरहाउसदेखि गोदकको सवस्टेसनसम्मको साढे १८ किलोमिटर लामो प्रसारण लाइनका लागि ५५ वटा टावर निर्माण गर्नुपर्ने र त्यसको कामसमेत धमाधम भइरहेको प्रधानले बताउनुभयो ।

कुल रु एक अर्ब ९० करोडको लगानीमा निर्माण सम्पन्न हुन लागेको आयोजनामा मुख्य लगानीकर्ता पञ्चकन्या ग्रुप र नविल बैंकसहित चार÷पाँचवटा बैंक रहेका छन् । माईखोला र रातेखोलाको पानीबाट विद्युत् निकाल्न लागिएको हो । यही पानीलाई प्रयोग गरेर जमुना र सुलुवुङबीचमा क्यासकेट प्रोजेक्ट पनि सञ्चालनका लागि काम सुरु गरिएको छ ।

चिसापानी र सोयाकबीचमा रहेको सानिमा माई हाइड्रोपावर कम्पनीले पनि चारदिनअघि मात्र १८ मेगावाट विद्युत् कावेली करिडोरबाट राष्ट्रिय प्रसारण लाइनमा सञ्चालन गरेको छ । अपरमाई हाइड्रोपावरले पनि एक महिनापछि उक्त करिडोरबाटै राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने आयोजनाका प्रधानले बताउनुभयो ।

प्रतिक्रिया