‘भाग्यले बाँचेकाहरु’बाट पुरस्कार कोष

इनेप्लिज २०७२ असोज २० गते १:५८ मा प्रकाशित

Documentary-BHAGYALE-BAACHEKAHARU-FINAL-POSTER-202x300बागलुङ, २० असोज । गत वैशाखमा गएको भूकम्पमा परी बाँचेकाको कथामा बनेको वृत्तचित्र (डकुमेन्ट्री) ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनबाट उठेको रकमबाट पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको छ ।

पत्रकार गणेश पाण्डेबाट निर्माण गरिएको सो वृत्तचित्र प्रदर्शन गरी प्रेस चौतारी नेपाल, बागलुङ शाखाले रु एक लाखको कोष स्थापना गरेको हो । गत शुक्रबार प्रदर्शित वृत्तचित्रको टिकट बिक्रीबाट सङ्कलित रकमले कोष स्थापना गरेको चौतारीका अध्यक्ष उमाकान्त शर्माले बताउनुभयो ।

वृत्तचित्र प्रदर्शनबाट रु एक लाख ३० हजार बचत भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । “क्रियाशील पत्रकारिता पुरस्कार कोष स्थापना गर्ने उद्देश्यले वृत्तचित्र प्रदर्शन गरेका हौँ”, अध्यक्ष शर्माले भन्नुभयो, “कोषबाट हरेक वर्ष एकजना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्नेछौँ ।”

पुरस्कारको नाम क्रियाशील पत्रकारिता पुरस्कार राखिएको छ । भूकम्पको प्रकोपमा परी बल्लतल्ल ज्यान जोगाएका व्यक्तिको अनुभव समेटिएको वृत्तचित्रमा उद्धारमा खटिएका साहसी सुरक्षाकर्मीका कथा पनि समोवश थियो । भूकम्प गएको हप्तादिनपछि जीवितै उद्धार गरिएका घाइतेको अनुभव सुन्दा–देख्दा दर्शक स्तब्ध बनेका थिए । पाण्डेद्वारा निर्मित ‘भाग्यले बाँचेकाहरु’ यसअघि पनि देश–विदेशका विभिन्न ठाउँमा प्रदर्शन भइसकेको छ ।

प्रेस चौतारी नेपाल, बागलुङ शाखाले क्रियाशील पत्रकारिता पुरस्कारसँगै पत्रकार कल्याणकारी कोषको पनि स्थापना गरिसकेको छ । रु एक लाखको कल्याणकारी कोषबाट पत्रकारलाई भइपरी आउँदा आर्थिक सहायता प्रदान गर्ने गरिएको छ ।

प्रतिक्रिया