सामुदायिक विद्यालयमा पशु विज्ञानको पढाइ सुरु

इनेप्लिज २०७२ असोज १८ गते ३:५३ मा प्रकाशित

महोत्तरी, १८ असोज । महोत्तरीको बर्दिवासमा गरिब तथा विपन्न वर्गका समुदायका विद्यार्थीले तीन वर्षे पशु विज्ञान (भेटेनरी) तर्फको शिक्षा हासिल गर्न पाएपछि हर्षित भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सिटिइभिटी) बाट सम्बन्धन प्राप्त जनकपुर अञ्चलमा पहिलोपल्ट बर्दिवासस्थित जनता मावि गौरीडाँडामा स्थानीय न्युनस्तरका गरिब परिवारका विद्यार्थी पनि भेटनरी पढाइ पढ्न पाएपछि हर्षित भएका हुन् ।

रोजगारीमुखी शिक्षित जनशक्ति उत्पादन गरी परम्परागत पशु व्यवसायलाई आधुनिकीकरण गर्ने विद्यालयकोे लक्ष्य रहेको छ । आफ्नै गाउँघरमै कृषि तथा प्राविधिक शिक्षालयबाट पशु विज्ञानको पढाइ हुने भएपछि अभिभावक र विद्यार्थी हर्षित भएका विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर रम्तेलले बताउनुभयो ।

उहाँले पशु विज्ञानको शिक्षाले पशुपालन र पशुजन्य सामग्रीमा रहेको परनिर्भरतामा कमी ल्याउने र शिक्षा पाएपछि मानिस आफ्नै ठाउँमा पशुपालन गरेर पशुजन्य पदार्थ उत्पादन गर्न सक्षम हुने धारणा राख्नु भयो ।

यसअघि यहाँका अभिभावकले आफ्ना छोराछोरीलाई मोरङको उर्लाबारी, चितवन, काठमाडौँ, जिरीजस्ता स्थानमा पढ्न पठाउने गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन ढुङ्गानाले बताउनु भयो ।

सुविधा सम्पन्न पशुपक्षी फार्म, अत्याधुनिक प्रयोगशाला, मल्टिमिडिया कक्षा, ठूलो खेलमैदान, भूकम्प प्रतिरोधात्मक भवन, सङ्गीत कक्षाको व्यवस्था र इन्टरनेटसहितको कम्प्युटर ल्याबको व्यवस्था विद्यालयको प्राङ्गणमा छ ।

सहरिया कोलाहलपूर्ण वातावरणभन्दा टाढा शान्त, अनुशासित, मनोरम वातावरणमा विद्यार्थी पढ्न पाउने विद्यालय स्रोतले जनाएको छ ।

पशु विज्ञान शिक्षा दिनका लागि विद्यालयले रु ३० लाखको ल्याबको सामान, रु ४० लाखको अत्याधुनिक भवन तयार गरिसकिएको छ । एक वर्षअघिबाट अहोरात्र खटेर विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिले भौतिक पूर्वधारका सरसामान जुटाएको हो ।

गाउँमै सेवा सुविधासहित प्राविधिक शिक्षा सञ्चालनले कृषि क्षेत्रले फड्को मार्ने उच्च मावि हात्तीलेट महोत्तरीका शिक्षक रुद्र सुसलिंगले बताउनुभयो । उहाँले भन्नुभयो – “खास गरी पशु विज्ञान एक व्यावहारिक शिक्षा हो । छोटो समयमै उत्कृष्ट जनशक्ति तयार हुन्छ । रोजगारी छिट्टै पाइन्छ ।यो वैज्ञानिक सीपमूलक शिक्षा हो ।”

चुरे शृङ्खलाको रेजन (सतह) मा घाँस उत्पादनको चाहेको हावापानी भएकाले यहाँ पशुपालको दृष्टिकोणले उपयुक्त क्षेत्र मानिएको विद्यालयका अभिभावक शङ्कर महतोको भनाइ छ ।

सामुदायिक विद्यालयले सुरु गरेको पशु विज्ञान क्षेत्रको शिक्षाले यस क्षेत्रमा सीपमूलक शिक्षाको विकास भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीका स्रोत व्यक्ति दीपक बरालको धारणा रहेको छ ।

यो शिक्षा लिएका विद्यार्थीले स्वरोजगारी हुन सहजै पाउँछ । पशु विज्ञानतर्फको तीन वर्षको कोर्सलाई रु एक लाख ५० हजार शुल्क लाग्छ ।

कक्षा १० पास गरेका विद्यार्थीले यस विषयमा अध्ययन गर्न पाउने छन् ।

प्रतिक्रिया