महासभामा यसपटक नेपालको सहभागिता अत्यन्त फलदायी भएको छ: उप्रधानमन्त्री सिंह

इनेप्लिज २०७२ असोज १७ गते १४:१३ मा प्रकाशित
पप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह विमानस्थलमा न्यूयोर्क भ्रमण बारे पत्रकारलाई जानकारी दिँदै । तस्बिर: प्रदीपराज वन्त,रासस

पप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह विमानस्थलमा न्यूयोर्क भ्रमण बारे पत्रकारलाई जानकारी दिँदै । तस्बिर: प्रदीपराज वन्त,रासस

काठमाडौँ, १७ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिहले संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा नेपालको सहभागिता अत्यन्त फलदायी भएको बताउनुभएको छ ।

राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले महासभामार्फत विश्व समुदायमा सगौरवका साथ संविधानसभाबाट संविधान जारी गरेको सन्देश पु¥याउन सफल भएको उल्लेख गर्नुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशी तथा लोकतान्त्रिक संविधान जारी भएपश्चात् आयोजना भएको महासभामा मुलुकको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सद्भावका लागि आह्वान गरिएको उपप्रधानमन्त्री सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–“नयाँ संविधान जारी भएपश्चात् नेपाल अब विकास र उन्नतिको दिशामा लागेकाले अन्तर्राष्ट्रिय सहयोग र सद्भावका बढाउन समेत आग्रह गरेको छु ।”

नेपालका तर्फबाट महासभामा सम्बोधन गर्ने क्रममा उहाँले भूपरिवेष्टित मुलुकले पारवहन सुविधान निर्वाधरुपले पाउनुपर्ने तथा विश्व शान्ति स्थापनाका लागि गरेको योगदानअनुरुपको व्यवस्थापकीय जिम्मेवारी र भूमिका पाउनुपर्ने विषय जोडदार रुपमा उठाएको बताउनुभयो ।

सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने समयसीमा सकिन लागेको सन्दर्भमा महासभाको क्रममा सन् २०१५ उप्रान्तको दिगो विकास एजेण्डालाई अनुमोदन गरेको उहाँले बताउनुभयो ।

आमूल परिवर्तनका लागि विश्वव्यापी रुपमा लागू हुने उक्त एजेण्डामा गरिबी, भोकमरी हटाउने, स्वास्थ्य, शिक्षा, जीवनयापन, रोजगारीलगायतका क्षेत्रमा एकीकृत रुपमा प्रगति हासिल गर्नेलगायतका १७ लक्ष्य र १६९ उद्देश्य रहेका छन् ।

उक्त बैठकमा उपप्रधानमन्त्री सिंहले लोकतन्त्र र विकासबीच अन्तर्निहित सम्बन्ध रहेकाले मानव केन्द्रित विकास हुनुपर्ने जनाउँदै नेपालमा भर्खरै समावेशी तथा लोकतान्त्रिक संविधान जारी गएको र त्यसका विशेषताका बारेमा जानकारी गराउनुभएको थियो ।

महासभामा भाग लिने क्रममा नेपाल र जमैकाबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

महासभाका क्रममा चीन र संयुक्त राष्ट्रसङ्घले आयोजना गरेको उच्चस्तरीय दक्षिण– दक्षिण सहयोग, लैङ्गिक समता, भूपरिवेष्टित विकासोन्मुख मुलुकको उच्चस्तरीय मञ्चको बैठक तथा विश्वव्यापी रुपमा एकअर्कालाई पुनः ऊर्जा प्रदान गर्ने अन्तक्र्रियामा सहभागी भएको उहाँले जानकारी दिनुभयो ।

न्युयोर्कमा रहँदा उपप्रधानमन्त्री सिंहले श्रीलङ्काका राष्ट्रपति, भुटानका प्रधानमन्त्री, संयुक्त राष्ट्रसङ्घका महासचिवसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो । नेपाल संयुक्त राष्ट्रमा प्रवेश गरेको यो वर्ष ६० वर्ष पुगेको छ ।

महासभामा भाग लिने क्रममा विश्वका नेताले राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिकलगायतका विषयमा आफ्ना देशका धारणा राख्ने भएकाले महासभालाई महत्वपूर्ण अवसरका रुपमा लिने गरिन्छ ।

उपप्रधानमन्त्री सिंह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ६ गते न्युयोर्क प्रस्थान गर्नुभएको थियो ।

प्रतिक्रिया