गैरआवासीय नेपाली संघको महा सचिव पदमा उम्मेदवारीको लागी मेरो घोषणा पत्र

इनेप्लिज २०७२ असोज १६ गते २१:५८ मा प्रकाशित

Untitledगैरआवासीय नेपाली संघको महा सचिव  पदमा उम्मेदवारीको लागी

मेरो घोषणा पत्र

आदरणीय अग्रजहरु, गैरआवासीय नेपाली संघका सहकर्मी मित्रहरु तथा प्रवासी दाजु  भाइ तथा दीदी बहिनीहरुमा हार्दिक नमस्कार।

     आफ्नो देश आफैंले बनाउनु पर्दछ र देशमा सप्ठेरो अबस्थामा मात्र  नभएर देशलाई अप्ठ्यारो परेको बेलामा परदेशमा बस्ने नेपालीको देश प्रतिको कर्तब्य र दायीत्व अझ बढी हुनु पर्छ भन्ने अभिप्रायले प्रेरित भएर  देश संक्रमण कालमा  गुज्रेकै बेला सन् २००३ अक्टोबरमा विश्वका १४ देशका प्रतिनीधि सहित  पहीलो अधिबेशन सम्पन्न भएको थियो| नेपालीका लागि नेपाली भन्ने मुलमन्त्रका साथ स्थापना  भएको गैरआवासीय नेपाली संघले  १२ बर्ष पार गरी सकेको छ| बाह्र वर्षको यो यात्रामा ७१ देशहरुमा राष्ट्रिय समन्वय परिषद स्थापना गर्नसफल भएको हाम्रो संगठन संसार भरि छरिएर रहेका नेपालीहरुलाई आफ्नो पहिचान , मातृभूमिको समृद्धि र प्रगतिको लागि एकजुट हुने साझा चौतारीको रुपमा स्थापित भएको छ । राजनीतिक तटस्थता हुनु, वर्ण, रंग, लिंग,  जात,  समुदाय  जस्ता साघुरो परिधिबाट माथि उठ्न सक्नु र ७१ देशमा छरिएर रहेका नेपाली हरुलाई साझा संजालमा समेटेर एकताको बिकाश गर्न सक्नुनै हाम्रो विशेषता तथा आकर्षण रहेको छ । गत १२ बर्षको कार्यकालमा हाम्रो संगठनले गैर आवासीय नेपालीहरुको माझमा आफ्नो गरिमामय परिचयदिई आफ्नो औचित्य तथा अपरिहार्यता प्रदर्शन गर्नसफलभएकोछ । देशमा भर्खरै गएको महा भुकम्पको बेलामा, देश बिपतमा पर्दा संसारको बिभिन्न कुनाबाट तत्कालै उपस्थित भएर प्रतक्ष रुपमा राहत तथा स्वास्थ्य शिविरमा हाम्रो  संग्लाग्नाता नेपाली जनता तथा नेपाल सरकारले अझ बढी मुल्यांकन गरेको छ|

      संघको अबधारणा तैयार पार्दा देखिनै  संस्थाका अग्रज हरुसंगको संगत तथा  बिभिन्न पदमा रहेर काम गर्न पाउनु मेरो लागी सबभन्दा ठुलो सौभाग्य हो| मैले अझ सम्म पाएको जिम्मेवारी यस प्रकार छ|

२०१३-२०१५  कोषाध्यक्ष , अन्तरास्ट्रिय समन्वय परीषद

२०१३-२०१५  कार्यसमिति अध्यक्ष , आर्थीक सुदृढ समिती , अन्तरास्ट्रिय समन्वय परीषद

२०११-२०१३  केन्द्रीय सदस्य, अन्तरास्ट्रिय समन्वय परीषद

२०११-२०१३ कार्यसमिति अध्यक्ष राष्ट्रिय उत्पादन प्रवर्धन समिति, अन्तरास्ट्रिय समन्वय परीषद

२००९-२०११ केन्द्रीय सदस्य, अन्तरास्ट्रिय समन्वय परीषद

२००९-२०११ कार्यसमिति अध्यक्ष  राष्ट्रिय उत्पादन प्रवर्धन समिति, अन्तरास्ट्रिय समन्वय परीषद

२००९-२०११ निर्देशक, नेपाल भबन निर्माण समिती, मस्को रुस

२००९- हाल सम्म  कार्यकारी निर्देशक नेपाल भबन, कालुगा रुस

२००७-२००९ महा सचिव राष्ट्रिय समन्वय परीषद, रुस

२००३-२००७ साधारण सदस्य राष्ट्रिय समन्वय परीषद, रुस

शैक्षिक योग्यता

१९९६   इन्जिनिएर (बायो टेक्नोलोजिस्ट), मस्को रुस

२००१  पी. एच. डी. (बायो टेक्नोलोजी), मस्को रुस

२००९  EXECUTIVE MBA, Moscow state university of management

     छैटौं बिश्व सम्मेलन बाट कोषाध्यक्ष पदमा  यहाँहरुले सुम्पनु भएको दुई बर्षीय जिम्मेवारी सफलता पुर्बक निर्बाहा गर्न सकेकोमा म गौरबान्दित छु! मेरो यस कार्यकालमा मलाई सल्लाह सुझाब दिनु हुने, मार्ग दर्शन गर्नु हुने संपुर्ण अग्रज हरु प्रति आभार व्यक्त गर्न चाहन्छु| यो कार्यकालमा संघ लाई आर्थीक पारदर्शी एवं शसक्त बनाउन मैले धेरै प्रयास गरे र केहीलाई चित्त पनि दुखाउनु परेकोमा क्षमा प्राथी छु| यो मेरो व्यक्तिगत फाइदाको लागी नभएर संघको सम्बृदिको लागी भएकोले अधिकांस सदस्यहरुले सहजको रुपमा लिनु भएकोमा धन्यवाद ब्यक्त गर्दछु|

देशमा महा भूकम्प जाँदा संजोगबस मा नेपालमा नै थिए| हामीले संघको तर्फबाट बिपतमा परेको नेपाली दाजुभाई दिदी बहिनी हरुलाई प्रतक्ष रुपमा सहयोग गर्ने निर्णय कार्यन्वयन गर्दा पहीलो दिन देखी अन्तीम सम्म करिब एक महिना सामाग्री ब्यबस्थापन एवं स्वयं सेबक ब्यबस्थापनमा संग्लग्न हुन पाउनु ठुलो सौभाग्य र मौका ठानेको छु|

गैरआवासीय नेपाली संघ जस्तो सामाजिक संस्थामा केन्द्रीय समीतिको सम्पूर्ण पदहरुमा व्यक्तिको कार्यदक्षता, बिगतका अनुभव, संस्थाप्रतिको लगाब तथा संस्थालाई दिन सक्ने योगदान तथा क्षेत्रीय सन्तुलन को आधारमा चयन गरिनुपर्छ भन्ने विनम्र विचारसहित२०१५-२०१७ को अन्तरास्ट्रिय समन्वय समितिको कार्यसमितीमा  महा सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेकोछु। मैले उक्त जिम्मेवारी पाएको अवस्थामा मेरो प्राथमिक महत्वको कार्ययोजना यस प्रकार छन:

  • गैर आबासीय नेपाली अभियान लाई समय सापेक्ष, सशक्त र ब्यबस्थित तथा एक  ढिक्का बनाउनको लागी सांगठनिक ढांचालाई समय सापेक्ष बनाउन सक्रिय भूमिका निभाउने छु|
  • संघले गरेका क्रियाकलापहरुको निरन्तरताको लागी नेत्रित्व्दायी र सक्रिय भूमिका निर्भाह गर्ने छु| संघको यस कार्यकालमा अधुरा रहेका कामहरु लाई तदारुकताका साथ सम्पन्न   गराउन बिशेष भूमिका निभाउने छु|
  • महा भुकम्प पछीको पुनर्निर्माण को लागी संघले घोषणा गरेको १००० र सकेसम्म त्यो भन्दापनि बढी घर बनाउनको लागी सामुहिक प्रयास जुटाउने काममा हातेमालो गर्दे आइरहेको छु र निर्माणको कार्यन्वयनको लागी तत्पर रहने छु|
  • हाल हाम्रो संजाल ठुलो भएको छ| क्षेत्र अनुसार हाम्रा समस्याहरु चुनौतिहरु र अपेक्षा  फरक फरक छन्|ती सबै समस्या र चुनौती हरुलाई हल गर्न बिभिन्न कार्यदल तथा समिती हरु गठन भएका छन्| ती सबै कार्यदल हरुलाई यथोचित महत्व एवं प्राथमिकता दिई कार्यन्वयन गराउने छु  र  देश र क्षेत्र सापेक्ष योजना बनाउन रास्ट्रिय समन्वय परीषद हरु संग सहकार्य गर्ने छु|
  • बैदेशिक रोजगारमा रहेका नेपाली हरुले भोग्नु परेका समस्या हरुको थप अध्ययन र अनुसन्धान गर्दै समस्या समाधानका लागी पहल गर्नेछु| त्यसका लागी देशको बैदेशिक रोजगार सम्बन्धी स्पस्ट नीति निर्माण र परिमार्जनमा सम्बन्धित निकाय हरूसम्म समन्वय र सहकार्य गर्दछु|
  • बैदेशिक रोजगारको क्रममा महीला दिदीबहिनीहरुको समस्या समाधानको लागी नेत्रित्वोदायी भूमिका खेल्नेछु|

साथै बैदेशिक रोजगार कल्याणकारी कोष परिचालन लाई  थप प्रभाबकारी बनाउन पहल गर्नेछु|

  • संघलाई नेपाली जनता र नेपाल सरकार समक्ष चिनाउने मुख्य एजेण्डा सामुहिक लगानी र परोपकरिका कामहरु हुन् |यी दुवै एजेन्डालाई प्रभाबकारी ढंगले अगाडी बढाउनको लागी संघको आन्तरीक संरचनात्मक सुधार गर्ने छु र यसको लागी हाम्रो केन्द्रीय कार्यालय बढी सार्थक बनाउने छु|
  • संघले धेरै बर्ष देखी उठाउदै आएको एजेण्डा “ नेपाली नागरीकताको निरन्तरता” वर्तमान संविधानले सम्बोधन गरेको छ, तर बिदेशमा आबासिय अधिकार, तर नेपाली नागरिकता परित्याग नगरेका नेपालीका नैसर्गिक अधिकार खोसेको छ| नेपाली नागरीकताको निरन्तरता ब्यबहारमा लागु गर्न तथा बिदेशमा बस्ने नेपाली नागरिकको हक कायम गर्न प्रयत्न रत हुने छु|
  • नेपालमा हुने बिभिन्न निर्बाचन प्रक्रियामा बिदेशमा बस्ने नेपाली नागरीकको मताधिकारको हक सुनिश्चित गर्न पराराष्ट्र मन्त्रालय र निर्वाचन आयोगसंग समन्बयकारी भुमिका खेल्नेछु|
  • गैर आबासीय नेपालीले बिदेशमा आर्जन गरेका अनुभब, दक्षता र सीपको सदुपयोग गरी नेपालमानै रोजगार सृजना गर्न पहल गर्ने छु|
  • गैर आबासीय नेपालीको बौद्धिक लगानी नेपालमा भित्र्याउनको लागी पहल गरीएको खुल्ला बिश्व बिध्यालय सम्बन्धी बिधेयक तैयार हुदैछ| खुल्ला बिस्व बिध्यालय कार्यन्वयन गराउन अग्रीम भूमीका खेल्नेछु|
  • देश र क्षेत्र अनुसार गैर आबासीय नेपालीहरुले भोग्ने समस्या र चुनौतीमा बिबिधता छ| त्यसको पहिचान गरी देश र क्षेत्र सापेक्ष योजना बनाउन रास्ट्रिय समन्वय परीषद हरु संग सहकार्य गर्ने छु|
  • नेपाली भाषा, साहित्य, संस्कृति, चलचित्र, खेलकुद तथा पर्यटन क्षेत्रलाई गैर आबासीय नेपाली एवं विदेशीहरुको बीच प्रबर्दन गराउने योजना बनाउने छु|
  • युवा महीला तथा दोश्रो पुस्ताका नेपाली हरुलाई संघमा आबद्ध गराउन प्रभाबकारी भुमिका निभाउने छु|

       हामी सबैको साझा प्रयत्नले हुर्किएको संस्थाले बाह्र बर्षको यात्रा पुरा गरी सकेको छ । यस संस्था लाई अब समय सापेक्ष परीबर्तन गर्दै अझ सबल, शसक्त र  सुदृढ बनाई नया उचाइमा पुराऊनको लागी  महा सचिवको पदमा रहेर सेवा गर्ने सुअबसर प्रदान गर्न हार्दिक अनुरोध गर्दछु।

तपाईंहरुको  साथ, सहयोग र समर्थनको अपेक्षा सहित,

डा. वद्री के. सी.

मस्को,  रुस ,  अक्टोबर  २०१५

प्रतिक्रिया