कालोबजारी गर्ने दुई पक्राउ, १५ सिलिन्डर ग्यास बरामद

इनेप्लिज २०७२ असोज १५ गते ४:२९ मा प्रकाशित

pakraauरत्ननगर (चितवन), १५ असोज । खाना पकाउने ग्यासको अभाव भएको अवस्थाको गलत फाइदा उठाई बालोबजारी गरेको आरोपमा चितवनमा दुईजना ग्यास विक्रेता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज दिएको जानकारी अनुसार उनीहरुलाई पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा भरतपुर– ६ बस्ने ५१ वर्षीय कृष्णप्रसाद सापकोटा र भरतपुर– १० स्थित डिपी सप्लायर्सका सञ्चालक ध्रुव पौडेल रहेका छन् ।

चितवन ग्यास प्रालिका सञ्चालक कृष्णप्रसाद सापकोटाले आफ्नो घरमा ग्यास लुकाएर राखी कालो बजारी गरी बजार मूल्यभन्दा महँगो मूल्यमा बिक्री गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले प्रतिसिलिन्डर रु पाँच हजारका दरले बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा छापा मार्दा ग्यास वितरण गर्दै गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

सो क्रममा लुकाई राखेको ग्यास सिलिन्डर १० थान बरामद गरी ल्याइएको प्रहरीले जनाएको छ । यस्तै ध्रुव पौडेलले पनि कालोबजारीमा ग्यास बिक्री गरिरहेको अवस्थामा फेला पारी पाँच सिलिन्डर ग्याससमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई कालोबजारीअन्तर्गत म्याद थप गरेर कारबाही थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया