नयाँ संविधान मधेसी दलसमेतको मेहनतको फल: सभामुख नेम्वाङ

इनेप्लिज २०७२ असोज १४ गते १५:४० मा प्रकाशित

subash-nembang_20150123073453पोखरा, १४ असोज । सभामुख सुवास नेम्वाङले नयाँ संविधान मधेसी दलसमेतको पसिनाको परिणामबाट बनेकाले यसलाई सहर्ष स्वीकार गर्न सबैसँग आग्रह गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको ‘राष्ट्रिय भेला तथा संविधान प्राप्तिपछिका अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । संविधानको ८० प्रतिशत काम पहिलो संविधानसभाले गरेको र त्यसमा मधेसवादी दलको पनि पूर्ण सहयोग रहेको स्मरण गराउँदै उहाँले अहिले पाँचवटा विषयमा असहमति जनाएर संविधानलाई नै अस्वीकार गर्न नहुने बताउनुभयो ।

पहिलो संविधानसभाको कामलाई स्वामित्व लिँदै नयाँ संविधान बनेको स्पष्ट पार्दै सभामुख नेम्वाङले वर्तमान संविधान प्रगतिशील, जनमैत्री र समावेशी भएको दावी गर्नुभयो ।

संविधान गतिशील र परिवर्तनशील हुने भएकाले असहमतिका बुँदालाई जनताका चाहना र भावनाबमोजिम संशोधन गर्दै लैजान सकिने उहाँको भनाइ थियो । सभामुख नेम्वाङले संविधानको कार्यान्वयनलाई सहज र सफल बनाउन दलबीचको एकता अभैm बलियो हुनु पर्नेमा पनि जोड दिनुभयो ।

उहाँले नयाँ संविधानको कार्यान्वयन भोलि शुक्रबारदेखि बस्ने व्यवस्थापिका–संसद्को पहिलो बैठकबाट सुरु हुने जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया