नाकावन्दी विरोधमा आज भारतीय दूतावास टोकियोमा ज्ञापनपत्र बुझाईदै, सहभागिताका लागि जापानवासीहरुमा अपिल

इनेप्लिज २०७२ असोज १३ गते १६:२७ मा प्रकाशित

Bhaban (1)

नेपालमा भारतीय हस्तक्षेप तथा सिमानाकामा गरेको नाकावन्दीको विरोधमा आज विहिवार जापानवासी नेपालीहरुबाट टोकियो स्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाईदै छ।

नेपालमा संविधानसभाबाट नयाँ संविधान जारी भए लगत्तै विरोध गर्दै भारत सरकारले नेपाली जनताको दैनिक जिवनमा आँच पुुरयाउने योजना अनुरुप दैनिक उपभोग्य सामाग्री तथा पेट्रोलियम पदार्थको ढुवानीमा रोकावट गरेको भन्दै गैरआवासीय नेपालीहरुले दूतावास मार्फत विरोध जनाउन लागेका हुन।

विहिवारको कार्यक्रममा जापानका विभिन्न ५० वढी संघसस्थाका प्रतिनिधिहरुको सहभागितामा दूतावास मार्फत भारत सरकारलाई नेपाली जनताको पीडामा सचेत रहन ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाईन लागेको हो । कार्यक्रमको नेतृत्व गर्दै गैरआवासीय नेपाली संघ एनआरएनए उपाध्यक्ष भवन भट्ट सहित जापानवासी नेपालीहरुको टोलीले सामुहिक रुपमा विरोधपत्र बुझाउने छ ।

विहान १० वजे टोकियो कुदानसिता स्थित भारतीय दूतावासमा राजदूत दीपा गोपालन वाधवा मार्फत ढाकाटोपी तथा नेपाली पोसाकमा सजिएका नेपालीहरुले अन्तराष्ट्रिय मान्यता र कानुन विपरित नेपालमा निकासी बन्द गरिएकोमा गंभिर ध्यानाकर्षण भएको भन्दै ज्ञापनपत्र पेश गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सहभागितामा लागि जापानवासी नेपालीहरुमा एनआरएनए उपाध्यक्ष भवन भट्टले अपिल गर्नुभएको छ । एक विज्ञप्ती प्रकाशित गरि उपाध्यक्ष भट्टले हालै नेपालमा गएको विनासकारी भूकम्पले मर्माहत भएका नेपालीहरुलाई पीडा पुरयाउने योजना अनुरुप गरिएको नाकावन्दीले विश्वभरि छरिएका नेपाली जनताको ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

अन्तराष्ट्रिय सन्धिसम्झौता विपरित भारत सरकारले गरेको नाकावन्दीका कारण नेपालमा पेट्रोलियम संकटप्रति कोही अनभिज्ञ नरहेको र चाँडै नै खाद्यान्न, औषधीलगायतका अत्यावश्यकीय बस्तुको अभाव हुने र यसले स्थिति थप विकराल हुने जोखिमप्रति सचेत हुन आग्रह गरिएको छ ।

तराइ मधेशका मागहरु संविधान संशोधन मार्फत सम्बोधन गर्न सकिने मार्ग सँधै खुल्ला छ । संविधानसभामा रहेका सदस्यहरुको झण्डै ९० प्रतिशतले पारित गरेको नयाँ संविधानलाई विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भएकाले मात्र हैन नेपालका हरेक सुख दुःखको साक्षी र सहयोगीसमेत भएकाले छिमेकी भारतले यसको निसर्त समर्थन गर्ने अपेक्षा गर्दै भूपरिबेष्ठित राष्ट्रका आफ्नै बिशिष्ठ अधिकारहरु रहेको र प्रत्येक राष्ट्रले त्यसको सम्मान गर्नुपर्ने ज्ञापन पत्रमा स्मरण गराइएको छ ।

झण्डै ४५ हजारको संख्यामा रहेका नेपाली तथा तिनको प्रतिनिधित्व गर्ने गैरआवासीय नेपाली संघ जापान, जापानस्थित नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मंच, नेपाल जनप्रगतिशिल मोर्चा, नेपाल जनजाती महासंघ, नेपाल पत्रकार महासंघ, नेपाली व्यवसायी संगठन, नेपाली विद्यार्थी संघ लगायत ५० भन्दा बढि संस्थाहरुका तर्फबाट ज्ञापनपत्र बुझाउन लागिएको हो ।

अभियानका संयोजक तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष समेत रहेका प्रतिष्ठित व्यवसायी भवन भट्टले भारतजस्तो ठूलो प्रजातान्त्रिक मुलुकले सार्कका सबै राष्ट्रहरुमा क्षेत्रिय शान्ति तथा सुव्यवस्था कायम गर्दै समेटेर लैजानुपर्ने बताउँदै वर्तमानमा भइरहेको घटनाप्रति दुःख व्यक्त गर्दै बिश्वको ७० भन्दा बढि राष्ट्रमा रहेका नेपालिहरुलाई सम्बन्धित देशमा रहेका भारतीय दूताबास तथा अन्य नियोगहरुमा १ अक्टुबरका दिन उपस्थित भई ज्ञापनपत्र बुझाउन आह्वान गर्नुभएको छ ।

विहिवार बुझाइने ज्ञापनपत्रको बोधार्थ जापानका प्रधानमन्त्री, जापानस्थित संयुक्त राष्ट्रसंघको कार्यालय, सार्कराष्ट्रका सबै दूतावासहरु लगायतमा दिइने छ।

कार्यक्रममा सहभागि हुन चाहनेहरुले निम्न ठेगाना कुदानमिनामी २-२-११, चियोदा, टोकियो, १०२-००७४ मा उपस्थिति भई दिनु हुन अनुरोध गरिएको छ ।

सम्पर्क सुदन थापा अध्यक्ष एनआरएनए जापान: ०८०४१५३१२१६ बुद्धिराज घिमिरे: ०९०९३९५१८४३

प्रतिक्रिया