साइन्स पढ्न राजधानी छिरेको केटो चर्चित गायक बनेपछि….

इनेप्लिज २०७२ असोज १३ गते १५:५५ मा प्रकाशित

लक्ष्मी काफ्ले/झापा

Tanka-1स्कूलमा हुँदा पढाइमा उनी निकै तेज थिए । पढाइमा अब्बल भएकै कारण बाबुको चाहना पनि छोरालाई डाक्टर/इन्जिनियर बनाउने थियो । झापाको शिवगञ्जस्थित जन आदर्श उच्च माविबाट एसएलसी सकेर साइन्स पढ्न भन्दै काठ्माण्डौं लागेका उनी अहिले नेपालकै चर्चित गायकमध्येका एक बनेका छन् ।

झापा पाँचगाछी घर भएका गायक टङ्क बुढाथोकीको कथा हो यो । उनी अहिले काठ्माण्डौमा निकै व्यस्त छन् । तर, यति व्यस्त हुनका लागि उनले ९ वर्षसम्म राजधानीमा सङ्घर्ष गरेका छन् । चर्चित नायिका रेखा थापाद्वारा निर्मित चलचित्र ‘हिम्मतवाली’को गीत ‘काली तिम्रो नजरैले’बाट एकाएक चर्चामा आएका टङ्कले यो ‘स्टेज’सम्म आइपुग्नका लागि राजधानीमा ९ वर्षसम्म सङ्घर्ष गरेका छन् ।

काठ्माण्डौंको पुतलीसडक चोकमा अहिले उनको आफ्नै रेकर्डिङ स्टुडियो छ । काठ्माण्डौं छिरेको ९ वर्ष बितेकै कारण स्टुडियोको नाम पनि उनले ‘स्टुडियो नाइन्’ राखेका छन् । स्टुडियोमा उनले सबै किसिमका रेकर्डिङ, फिल्मको डविङ, ब्याग्राउण्ड लगायतका काम गर्ने गरेका छन् । ‘विशेष गरेर म आफ्नै काम गर्छु स्टुडियोमा,’ उनले भने, ‘मलाई विश्वास गरेर अरु जो आउनुहुन्छ, उहाँहरुको पनि काम गर्ने गरेको छु ।’

Tanka-2छोटो अवधिमै टङ्कले सयभन्दा धेरै गीत गाइसकेका छन् । विशेषगरी उनी चलचित्रका गीत बढी गाउँछन् । टङ्क झापाली भएका कारण झापामा उनका ‘फ्यान’ धेरै छन् । उनी आफ्ना फ्यानलाई खुसी बनाउन दशैंमा झापा आउँदैछन् । ‘टिकाको केही दिनसम्म झापामै बसिन्छ होला,’ उनले भने, ‘झापाबाट विभिन्न कार्यक्रमहरुको लागि कुरा आइरहेको छ, कार्यक्रममा व्यस्त भइन्छ होला ।’

कुराकानीका क्रममा टङ्क पुराना दिनमा फर्किए । ‘बाबाको इच्चा डाक्टर थियो, तर समयले मलाई संगीततर्फ लग्यो,’ उनले भने, ‘सुरुका दिनमा मलाई सबैले टङ्क बिग्रियो भन्नुहुन्थ्यो ।’ सुरुवाती दिनमा सङ्गीतलाई अगाडि बढाउन अत्यन्तै गाह्रो भएको उनी सुनाउँछन् । तर, आफूलाई गीत–सङ्गीतमा नै राम्रो गर्छुजस्तो लागेकाले त्यसैको तयारी गरेको टङ्क बताउँछन् ।

गीत–सङ्गीतका लागि सकारात्मक समाज नै नभएको सामान्य गाउँबाट शहर पसेको केटो आज देश विदेशमा चिनिएपछि उनको परिवार पनि दङ्ग छ । ‘अहिले त सबैजना खुसी हुनुहुन्छ,’ उनी भन्छन्, ‘टिभीमा मेरो गीत आउनेबित्तिकै फोन गर्नुहुन्छ ।’ टिभीमा धेरै दिनम्म उनको गीत आएन भने सोधीखोजी हुने गरेको उनले बताए ।

Tanka-3‘किन गाह्रो–गाह्रो हुन्छ’ चलचित्र जञ्जिरको यो गीत नै टङ्कले गाएको चलचित्रको पहिलो गीत हो । अत्यधिक रुचाइएको यो गीत राष्ट्रिय अवार्डमा पनि थियो । तर पछि हिम्मतवालीको ‘काली तिम्रो नजरैले’ले उनलाई बढी चर्चित बनायो । उनले गाएका अन्य गीतहरुमा चलचित्र हवल्दार सुन्तलीको ‘घण्टी बज्यो’, चलचित्र कान्छी मट्याङट्याङको ‘झण्डु बाम झण्डु बाम’लगायत रहेका छन् ।

साङ्गीतिक यात्रा सुरु गर्दा टङ्कले राजवंशी भाषाका एलवमहरु निकाले । दुर्गा राजवंशीले रचना गरेको राजवंशी भाषाको ५ वटा एल्वम उनले निकालेका थिए । उनी भन्छन्– ‘यी गीतका रचनाकार/प्रोडुसरले मलाई एकदम सहयोग गर्नुहुन्थ्यो ।’ कुनैबेला राजवंशी भाषाका गीतबाट यात्रा सुरु गर्ने टङ्क आज राष्ट्रिय स्तरका चर्चित गायक तथा सङ्गीतकार बनेका छन् । दशैँका लागि उनले नयाँ गीतहरु पनि बजारमा ल्याउँदैछन् । ‘यसपाली दशैंका गीतहरु पनि गर्दैछु,’ उनी भन्छन्, ‘त्यसैले यसपाली झापाको कार्यक्रम झन् रमाइलो हुनेछ ।’

‘जमरा र रातो टिका पिङको मौसम आयो, मान्यजनको आशिष लिने बडादशैं आयो’ दशैँमा उनले निकाल्ने एल्वमभित्रको यो एउटा गीत हो ।

प्रतिक्रिया