शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०२:०१
वासिङटन डिसी 15:16

संसद्को विघटन कल्पना पनि गर्न सकिँदैन: एमाले सचिव

इनेप्लिज २०७२ असोज १३ गते १५:४९ मा प्रकाशित

Yogesh_Bhattarai_20140831080937काठमाडौँ, १३ असोज । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अहिलेको सन्दर्भमा व्यवस्थापिका–संसद्को विघटन कल्पना पनि गर्न नसकिने बताउनुभएको छ ।

सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमका प्रमुख तथा पदाधिकारीसँग आज पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा सचिव भट्टराईले तराई मधेसको आन्दोलनलाई सम्बोधन गर्ने क्रममा संसद् विघटनको प्रसंग पनि कतिपय पक्षबाट आएको भन्दै त्यसबारे सोच्नु मात्र पनि मुलुकलाई थप अस्थिर तथा लोकतन्त्रलाई कमजोर बनाउने काम हुने स्पष्ट गर्नुभयो ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुखसमेत रहनुभएका भट्टराईले भन्नुभयो – “हामी समस्याको समाधानका लागि मधेस केन्द्रित दलसँग निरन्तर वार्तामा छाँै तर अहिले भएकामध्ये एकमात्र जननिर्वाचित निकाय संसद्को विघटनको कुरा कल्पना पनि गर्न सकिँदैन ।”

उहाँले संविधानसभाबाट जारी भएको संविधानलाई स्थापित गराउन, यसको कार्यान्वयन तथा भारतीय पक्षबाट भएको अघोषित नाकाबन्दी खुलाउन सरकारी स्वामित्वका सञ्चारमाध्यमको भूमिका थप प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चारमन्त्री शङ्कर पोखरेलले तीन दलको अभूतपूर्व एकतामा संविधान जारी हुनु ऐतिहासिक उपलब्धि भएको र यस घटनाले नेपाली जनता सार्वभौमसत्ता सम्पन्न रहेको पुनःपुष्टि गरेको जनाउनुभयो ।

उहाँले भन्नुभयो, “संविधानमा भएका व्यवस्था र हकअधिकारबारे पर्याप्त व्याख्या नहुँदा केही भ्रम उत्पन्न भएका छन् । यसलाई चिर्नुपर्छ र समस्याको सम्बोधन वा संविधान संशोधन यही संविधानमा टेकेर राष्ट्रियतालाई बलियो बनाउने गरी संविधानवादका आधारमा गर्नुपर्छ ।”

एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाले वर्तमान सन्दर्भमा सञ्चारमाध्यमलाई प्रभावकारी बनाउन सरकार र प्रमुख पार्टीले आवश्यक ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक निर्मला आचार्य, गोरखापत्र संस्थानका अध्यक्ष रमेश तुफान, नेपाल टेलिभिजनका निमित्त महाप्रबन्धक दीपकमणि धिताल, रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक धनेन्द्रविमल क्षेत्रीलगायतले संविधान आएपछिको अवस्थामा आफ्ना माध्यमबाट भएका र गर्न सकिने कार्यबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, सल्लाहकारहरु प्रमोद दाहाल, श्रीधर आचार्यलगायतको सहभागिता थियो ।

प्रतिक्रिया