बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०७:१६
वासिङटन डिसी 20:31

टीकापुर घटनाको प्रतिवेदन सतही: बाहिर आएन सत्य

इनेप्लिज २०७२ असोज १३ गते १५:३४ मा प्रकाशित

Tikapur-kailali-1-650x366काठमाडौँ, १३ असोज । व्यवस्थापिका–संसद्अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको घटनाबारे सत्यतथ्य बाहिर आउन नसकेको सभासद्हरुको भनाइ छ ।

सभासद् जीवन श्रेष्ठ संयोजक रहेको टोलीको ‘कैलाली घटनामा स्थलगत अध्ययन अवलोकन भ्रमण टोलीको प्रतिवेदन–२०७२’ माथिको छलफलमा सभासद्हरुले सो ठाउँको यर्थाथ विवरण प्रतिवेदन आउन नसकेको टिप्पणी गर्नुभयोे ।

सभासद् कमला गुरुङले प्रस्तावित संविधान जारी हुनुअघि सङ्घीय प्रदेश र सीमाङ्कनका विषयलाई लिएर कैलालीको टीकापुरमा भएको घटनाको वास्तविकता ठोस रुपमा आउन नसकेको बताउनुभयो ।

वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मी न्यौपानेसहित सुरक्षाकर्मी र आन्दोलनकारीको पनि सो घटनामा मृत्यु भएको, १८ महिनाको बालकको गोली हानी हत्या भएको कुराको गहन अध्ययन नभई सतही अध्ययन भएको सभासद् गुरुङको भनाइ थियो ।

सभासद्हरु नरबहादुर थापामगर, शकुन्तला राजभण्डारीलगायतले अघिल्लो दिन गत भदौ ६ गते शान्तिपूर्ण आन्दोलन गर्ने सहमति भएपछि भोलिपल्ट के कारणले आन्दोलन हिंसात्मक भयो ? बच्चालाई पछाडिबाट गोली लागेको भनिएको छ त्यो आन्दोलनकारी वा सुरक्षाकर्मी कसले चलाएको गोली लागेको जस्ता कुरा प्रष्ट रुपमा आउनुपर्ने माग गर्नुभयो ।

समितिका सभापति सभासद् सुशीलकुमार श्रेष्ठले टीकापुर आन्दोलनमा सुरक्षा निकायका उच्च अधिकारीको पेट्रोल छर्केर हत्या गर्नु, नागरिकको घर लुटिनु, सभासद्कै घरमै आगो लगाइनु जस्तो गम्भीर अपराधलाई गहन अध्ययन गरेर दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

समितिको यही असोज ११ गतेको बैठकमा पेस भएको प्रतिवेदनमाथि आज छलफल भएको हो । प्रतिवेदनमा आठ बँुदे सुझावमा टीकापुर घटनामा संलग्न दोषी पत्ता लगाई कानुुनबमोजिम कारबाही गर्न सरकारलाई निर्देशन दिने, सो घटनामा ज्यान गुमाएका परिवारलाई कानुनबमोजिम राहत क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, नेपाल प्रहरीका ३०, सशस्त्र प्रहरीका २७ र थरुहटका कार्यकर्ता आठ जना घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनेलगायत रहेका छन् ।

प्रतिक्रिया