शनिबार, मंसिर २० २०७७
काठमाडौं ०७:२३
वासिङटन डिसी 20:38

राष्ट्रिय लिग फुटबल: जितसँगै आर्मी तेस्रो स्थानमा

इनेप्लिज २०७२ असोज १२ गते १५:५३ मा प्रकाशित

footballकाठमाडौँ, १२ असोज । राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली नेपाल आर्मी क्लब विजयी भएको छ ।

सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मी मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । आर्मीको जितमा खेलको १८ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गरेका थिए । उनले भरत खवासको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । टोलीको उत्कृष्ट प्रदर्शनमा महत्वपूर्ण भूमिका खेलेका आर्मीका दीपक गुरुङ ‘म्यान अफ दि म्याच’ घोषित भए ।

आजको जित आर्मीका लागि महत्वपूर्ण साबित भएको छ । आर्मी यसअघि लिगको चौथो स्थानमा थियो । सो जितसँगै ऊ तेस्रो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको मनाङलाई भने आजको हार महँगो साबित भएको छ । ऊ आर्मीसँग पछि पर्दै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

जारी लिगमा झापा एघार २४ अङ्कका साथ पहिलो स्थानमा कायम छ भने दोस्रो स्थानमा रहेको थ्री स्टार क्लबको २२ अङ्क छ । त्यस्तै तेस्रोमा उक्लिएको आर्मीको २० अङ्क हुँदा चौथो स्थानमा झरेको मनाङको १९ अङ्क छ ।

आजै भएको पहिलो खेलमा सुदूरपश्चिमाञ्चलले नेपाल पुलिस क्लबलाई ४–१ गोलअन्तरले पराजित गरेको थियो । जितसँगै सुदूरपश्चिमाञ्चलले १७ अङ्क जोडेको छ ।

प्रतिक्रिया