शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं २२:२२
वासिङटन डिसी 11:37

नाकाबन्दी खुलाउने बारे नेम्वाङले यसो भने…

इनेप्लिज २०७२ असोज १२ गते ९:२८ मा प्रकाशित

subasnembangचितवन, १२ असोज । सभामुख सुवासचन्द्र नेम्वाङले भारतले गरेको अघोषित नाकाबन्दी खुलाउन स्वयम् आन्दोलनरत दलहरुसमेत जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक सङ्घको केन्द्रीय सम्मेलनलाई उद्घाटन गर्न आज यहाँ आउनुभएका सभामुख नेम्वाङले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताउनुभएको हो ।

अहिले मधेसवादी दलका कारण देशमा ठूलो समस्या आइपरेको भन्दै उहाँले यो समस्या ठूला राजनीतिक दलहरु र आन्दोलनरत दलका बीच समझदारी कायम गरेर हल गर्न सकिने बताउनुभयो । देशमा अहिले देखिएको अति आवश्यक वस्तुको अभावले गर्दा ठूलो समस्या परेको भन्दै उहाँले भारतले लगाएको अघोषित नाकाबन्दी खुलाउन सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।

यो समस्याले नेपालीका चाडपर्वलाई समेत असर पार्ने नेम्वाङको भनाइ थियो । आन्दोलनरत दलका माग पूरा गर्नका लागि सरकारले वार्ताटोली बनाइसकेको भन्दै सभामुख नेम्वाङले वार्तामार्फत समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो ।

पत्रकारहरुसँगको कुराकानीमा उहाँले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि कुनै समस्या नरहेको बताउनुभएको छ । पहिलो संविधानसभा नियमावली र सांसद नियमावलीअनुसार मुलुक चलेको र अहिले सांसद नियमावली मात्र रहेका कारण समस्या देखिएपनि ठूलो समस्या नरहेको उहाँको भनाइ थियो । यस विषयमा असोज १५ गते बस्ने संसदको बैठकले नियमावली केही समयका लागि संशोधन गर्ने गृहकार्य भइरहेको सभामुख नेम्वाङले बताउनुभयो ।

प्रतिक्रिया