शनिबार, मंसिर २० २०७७
काठमाडौं २०:५१
वासिङटन डिसी 10:06

राष्ट्रिय लिगमा एकै दिन तीन खेल, मनाङ, थ्रीस्टार र पुलिस विजयी

इनेप्लिज २०७२ असोज ७ गते १४:१६ मा प्रकाशित

footballकाठमाडौँ, ७ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएका तीन खेलमा मनाङ मस्र्याङ्दी, थ्रीस्टार र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

लिगको दोस्रो स्थानमा रहेको झापा र तेस्रो स्थानमा रहेको आर्मीबीचको खेल भने वर्षाका कारण शुक्रबारका लागि सरेको छ । झापाको डोमालाल राजवंशी रङ्गशालामा हुने खेल भारी वर्षापछि शुक्रबारका लागि सारिएको एन्फाले जनाएको छ ।

त्यस्तै एन्फा कम्प्लेक्स सात दोबाटोमा यु–१९ का राष्ट्रिय खेलाडीको बाहुल्य रहेको सुदूरपश्चिमविरुद्ध भिडेको मनाङले ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । जितसँगै मनाङ मस्र्याङ्दी नौ खेलबाट १६ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा तथा १२ खेल खेलेको सुदूरपश्चिमाञ्चल १४ अङ्कका साथ छैटौँ स्थानमा छ ।

मनाङका लागि पहिलो गोल २७ औँ मिनेटमा रुपेश केसीले गरेका थिए । विशाल राई ‘ए’ले ३७ औँ मिनेटमा दोस्रो गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा विदेशी खेलाडी डोडोजले गोल गर्दै मनाङ महिला हाफमा तीन गोलले अगाडि रह्यो ।

पहिलो हाफसम्म ३–० गोल अन्तरले अगाडि रहेको मनाङ मस्र्याङ्दीले दोस्रो हाफमा थप तीन गोल थप्यो । अनिल गुरुङले छपन्नौैँ मिनेटमा एक र दीपक राईले ६४औँ र अतिरिक्त समय (९० प्लस १औँ मिनेट) मा दुई गोल गरेका थिए ।

त्यसैगरी आजै एन्फा कम्प्लेक्स सात दोबाटोमा भएको दोस्रो खेलमा विनोद कार्कीको ह्याट्रिकको मद्दतले नेपाल पुलिसले लुम्बिनी फुटबल क्लबलाई ४–१ ले पराजित गरेको छ । कार्कीले ३२, ४५ र ५४ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए भने भरत साहले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका थिए । लुम्बिनीका लागि एक मात्र गोल रितेश थापाले ४९ औँ मिनेटमा गरेका थिए ।

जितसँगै १० खेल खेलेको पुलिस १२ अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा यथावत् रहेको छ । लुम्बिनी १२ खेलबाट आठ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ ।

त्यसैगरीे घरेलु मैदानमा भएको खेलमा मोरङ फुटबल क्लब थ्री स्टारसँग ४–१ ले पराजित भएको छ । थ्रीस्टारको जितमा सन्तोष साहुखलले ह्याट्रिक गरेका थिए । जितसँगै थ्रीस्टार अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

दश खेल खेलेको थ्रीस्टार १९ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ भने १२ खेलबाट छ अङ्क मात्र जोडेको मोरङ तालिकाको पुछारमा छ । लिगमा मोरङले अहिलेसम्म जित दर्ता गर्न सकेको छैन ।

खेलको २७ औँ मिनेटमा मोरङका टेकबहादुर लिम्बूले पहिलो गोल गरी अग्रता लिए पनि पहिलो हाफको अन्तिम मिनेटमा थ्रीस्टारका आफेय ओलावरले गोल गरी खेललाई बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ एक/एकको बराबरीमा सकिए पनि दोस्रो हाफमा सन्तोष साहुखलले ह्याट्रिक गरेपछि थ्रीस्टारले खेल जित्यो । साहुखलले ७७ औं ९० औँ र अतिरिक्त समय (९४औँ) मिनेटमा गोल गरेका थिए ।

राष्ट्रिय लिगको आजसम्मको अङ्क तालिका यस प्रकार छ ।

क्लब खेल जित हार बराबरी अङ्क
थ्रीस्टार क्लब १० ५ १ ४ १९
झापा ११ ११ ५ ३ ३ १८
नेपाल आर्मी क्लब ९ ४ ० ५ १७
मनाङ मस्र्याङ्दी क्लब ९ ४ १ ४ १६
सशस्त्र प्रहरी बल (एपिएफ) ९ ४ ३ २ १४
सुदूरपश्चिम फुटबल क्लब १२ ३ ४ ५ १४
नेपाल पुलिस क्लब १० ३ ४ ३ १२
लुम्बिनी फुटबल क्लब १२ २ ८ २ ८
मोरङ फुटबल क्लब १२ ० ६ ६ ६

प्रतिक्रिया