नेपाली प्रतिनिधिमण्डल दोहाबाट न्युर्याेकतर्फ प्रस्थान

इनेप्लिज २०७२ असोज ७ गते ४:५६ मा प्रकाशित

दोहा, ७ असोज । उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल दोहाबाट न्युयोर्कका लागि प्रस्थान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका ७०औँ महासभामा भाग लिन न्युर्योक जाने सिलसिलामा उपप्रधानमन्त्री सिंहले नेतृत्व गर्नुभएको नेपाली प्रतिनिधिमण्डल हिजो राति यहाँ आइपुगेको थियो ।

उहाँहरुलाई कतारका लागि नेपाली कार्यवाहक राजदूत मणिरत्न शर्माले अन्तर्राष्ट्रिय दोहा विमानस्थलमा बिदाइ गर्नुभयो । चौध घन्टाको हवाई यात्रा पूरा गरेर नेपाली प्रतिनिधिमण्डल भोलि बिहान न्युयोर्क पुग्ने छ ।

यसअघि प्रतिनिधिमण्डल हिजो राति दोहा पुग्दा कार्यवाहक राजदूत शर्माले विमानस्थलमा स्वागत अभिवादन गर्नुभएको थियो । सो प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे सहभागी हुनुहुन्छ ।

उप्रधानमन्त्री सिंहका साथ प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा दिनेश भट्टराई, प्रधानमन्त्री कार्यालयका सचिव नारायणगोपाल मलेगो, परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागी, सहसचिव ताराप्रसाद पोखरेल र रमेशप्रसाद खनाल, उपसचिव दुर्गाप्रसाद भण्डारी, राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतसहित पाँच सञ्चारकर्मी रहनुभएको छ ।

यस पटकको महासभा राष्ट्र सङ्घ स्थापनाको ७०आँै वार्षिकोत्सव र नेपाल राष्ट्र सङ्घको सदस्य भएको ६० वर्ष पुगेको सन्दर्भमा हँुदैछ । महासभालाई नेपाली प्रतिनिधिमण्डलको नेतृत्वले यही असोज १४ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संविधान जारीपछिको विकासको मार्गचित्र तथा भूकम्पपछिको पुनः निर्माणका साथै जलवायु परिवर्तन, आतङ्कवाद र अल्पविकसित तथा भूपरिवेष्ठित मुलुकका मुद्दाहरुलाई नेपालले यस पटकको महासभामा प्राथमिकताका साथ उठाउने बताइएको छ ।

प्रतिक्रिया