बन्दको चौथोदिन ताप्लेजुङमा बजारपसल र निजी विद्यालय खुला

इनेप्लिज २०७२ असोज ६ गते ७:३७ मा प्रकाशित

Taplejung_district_locationताप्लेजुङ, ६ असोज । बन्द हडतालका कारण व्यापार व्यवसाय नै चौपट भएको भन्दै व्यवसायीले बजार पसल खोल्ने वातावरण बनाउन आग्रह गरेपछि आन्दोलनरत सङ्घीय लिम्बूवान पार्टी नेपाल र उद्योग वाणिज्य सङ्घबीच सहमति भएसँगै ताप्लेजुङमा आजदेखि बजार पसल खुल्ने भएका छन् ।

व्यवसायी र स्थानीयको आग्रहका कारण आज बिहान उद्योग वाणिज्य सङ्घ ताप्लेजुङ र सङ्घीय लिम्बूवान पार्टी नेपाल ताप्लेजुङबीच नजिकिँदो चाडपर्वलाई मध्यनजर गर्दै बिहान ११ बजेदेखि बजार पसल खुला गर्ने सहमति भएको उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरेले जानकारी दिनुभयो ।

यसैबीच, जिल्लाका निजी विद्यालय पनि भोलिदेखि सञ्चालन गर्ने सहमति भएको प्याब्सन ताप्लेजुङले जनाएको छ । आजैदेखि खोल्ने भनिए पनि विद्यालय खुल्ने समय कटिसकेकाले र सबैमा जानकारी नपुगेकाले भोलिदेखिमात्रै निजी विद्यालय खुलाउने निर्णय भएको प्याब्सन ताप्लेजुङका अध्यक्ष दिनेश प्रसाईंले बताउनुभयो ।

सामुदायिक विद्यालय र यातायातका साधन भने बन्द नै रहेको सङ्घीय लिम्बूवान पार्टीका ताप्लेजुङ अध्यक्ष कीर्तिमान मादेनले जनाउनुभएको छ ।

लिम्बूवानबिनाको संविधान घोषणा गरिएको भन्दै विरोधमा उत्रिएका लिम्बूवान सङ्घर्ष समिति र सङ्घीय लिम्बूवान पार्टी नेपालले गत आइतबारदेखि पूर्वका नौ जिल्ला अनिश्चितकालीन बन्दको आह्वान गरेका छन् । बन्दका कारण आज पनि अरुण पूर्वका नौ जिल्ला प्रभावित भएका छन् ।

प्रतिक्रिया