करिडोर क्षेत्रका उद्योगी उत्साहित

इनेप्लिज २०७२ असोज ५ गते ८:५५ मा प्रकाशित

sunsari-morangपथरी (मोरङ), ५ असोज । मोरङ–सुनसरी आद्योगिक करिडोर क्षेत्रका उद्योगी नेपालको नयाँ संविधान जारी भएपछि उत्साहित भएका छन् ।

लामो जनसङ्घर्ष, बलिदान एवम् सशस्त्र सङ्घर्षलाई विश्राम लगाउँदै देशमा नयाँ संविधान घोषणासँगै राजनीतिक क्रान्ति सकिएर आर्थिक क्रान्ति सुरु भएको बताउँदै करिडोर क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका हुन् ।

साढे ६ दशक लामो सङ्घर्षलाई विश्राम लगाउँदै ल्याइएको संविधानले आर्थिक क्षेत्रले फड्को मार्ने उद्योगीको भनाइ छ । उद्योगीले राजनीतिकदललाई मधेस केन्द्रित दलको जायज माग सम्बोधन गरी चाँडो राजनीतिक स्थिरता ल्याउन पनि सुझाव दिएका छन् ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले संविधान प्राप्त गरेसँगै लगानीको वातावरण बढ्ने विश्वास व्यक्त गर्नुभयो । झन्डै ४० दिनदेखिको विराटनगर बन्दले उद्योगीमा निराशा छाएका बेला आएको संविधानले केही राहत दिएको उहाँले बताउनुभयो ।

संविधान जारीको कार्यभार दलले पूरा गरेसँगै अब आन्दोलनरतदललाई पनि वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उद्योग वाणिज्य महासङ्घ कोसीका महासचिव रविन दाहालले जनताले चाहेको संविधान प्राप्त गरेको बताउनुभयो ।

संविधान जारी भएसँगै रोजगारीको वातावरणको बन्ने उहाँले बताउनुभयो । मुलुकमा राजनीतिक वातावरणा नभएकाले लगानीको वातावरण नबनिरहेका बेला संविधान जारीले लगानीसँगै रोजगारीको वातावरण बन्ने उहाँले बताउनुभयो ।

विराट व्यापार सङ्घका अध्यक्ष रामजीवन अग्रवालले संविधान जारीसँगै मुलुकमा स्थिरता आउने विश्वास व्यक्त गर्नुभयो । संविधान जारीसँगै व्यापार व्यवसाय पनि बढ्ने उहाँको भनाइ छ । व्यापार व्यवसाय गर्न शान्ति चाहिने हुनाले संविधान धेरैले चाहेको अग्रवालले बताउनुभयो ।

युवा उद्योगी भीम घिमिरेले संविधान जारी पछि आर्थिक क्रान्तिमा लाग्न सके मुलुकले चाँडो फड्को मार्ने दाबी गर्नुभयो । उहाँले संविधान जारीसँगै लगानीको वातावरण बनेको बताउनुभयो ।

प्रतिक्रिया