दमकमा बन्दको अवज्ञा

इनेप्लिज २०७२ असोज ५ गते ७:४६ मा प्रकाशित

दमक, ५ असोज । जारी संविधानप्रति असन्तुष्टि जनाउँदै पूर्वमा आन्दोलनरत सङ्घीय लिम्बुवान पार्टी र सङ्घीय समाजवादी फोरमको अनिश्चकालीन आमहडतालको आज दमकका उद्योगी एवम् व्यवसायीहरुले अवज्ञा गरेका छन् ।

चाडपर्व नजिकिएसँगै बन्द हडताल जस्ता विरोध कार्यक्रमले दैनिक गुजारामा समस्या आएको भन्दै यहाँका जनताले बन्दको अवज्ञा गरेका छन् । बन्द अवज्ञापछि दमकको उद्योग, व्यापार, पसल, कलकारखाना खुलेका छन् ।

दमक उद्योग वाणिज्य सङ्घले बन्दको विकल्प खोज्न आग्रह गर्दै नगरका सम्पूर्ण व्यवसाय निर्वाध रुपमा खुलाउन माइकिङ गरेका थिए । असन्तुष्टहरुको जायज माग तत्काल वार्ताबाट सम्बोधन गर्न राजनीतिक दल तथा सरकारको ध्यानाकर्षणसमेत गरिएको सङ्घका अध्यक्ष प्रकाश प्रसार्इंले बताउनुभयो ।

यसैगरी, लगातारको बन्दले आजित भएका यातायात व्यवसायीले समेत बन्दको अवज्ञा गरेर आजदेखि यातायात सञ्चालन गर्ने भएका छन् । दमकमा रहेका विभिन्न सातवटा व्यवसायी सङ्घ, सङ्गठनहरुले संयुक्त विज्ञप्ति निकालेर प्रशासनले सुरक्षाको उचित बन्दोवस्त मिलाइदिए यातायात सञ्चालन गर्ने बताएका छन् ।

सोमबार प्रदर्शनकारी र पार्टी कार्यकर्ताबीच झडप भएका कारण दमकमा आज बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया