सप्तरीसहित तराई मधेसमा उनन्चालिस दिनदेखि बन्द जारी

इनेप्लिज २०७२ असोज ५ गते ७:३६ मा प्रकाशित

सप्तरी, ५ असोज । तराई मधेसमा विगत ३९ दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन दिन प्रतिदिन कडा बन्दै गइरहेको छ ।

सीमाङ्कन र राज्यका हरेक क्षेत्रमा समानुपातिक समावेशी सहभागितालगायतका विभिन्न माग राख्दै मधेसी मोर्चाले तराई मधेसमा अनिश्चितकालीन आमहडताल गरेपछि सप्तरीको जनजीवन अत्यन्त कष्टकर बनेको छ ।

मोर्चाले थालेको आन्दोलनको आज ३९ औँ दिन मधेसी मोर्चाका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेका छन् । प्रदर्शनकारीले सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनलाई चल्न दिएका छैनन् भने ठाउँठाउँमा प्रदर्शन गर्दै बजार तथा पसल पूर्णरुपमा बन्द गराएका छन् ।

प्रदर्शनकारीले राजविराजको गजेन्द्र चोक, दर्शन चोक, महावीर चोकलगायतका स्थानमा बिहानैदेखि टायर बालेर प्रदर्शन गर्नुका साथै बजार पसल पूर्णरुपमा ठप्प पारेको बताइएको छ ।

आइतबार नयाँ संविधान जारी भएपछि आन्दोलनकारीले आन्दोलनका कार्यक्रम झन कडा बनाएर पूर्णरुपमा सप्तरी ठप्प पारेका हुन् । साथै, मोर्चाले पूर्व पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका ठाउँमा ढुङ्गा राखेर तथा रुख ढालेर सडक अवरुद्ध पारेका छन् ।

सीमाङ्कनको विरोधमा उत्रिएका सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादीदलले आह्वान गरेको अनिश्चितकालीन तराई मधेस बन्दको आज ३९ आँै दिन पुगेको हो ।

मोर्चाका कार्यकर्ताले सप्तरीसहित तराईका जिल्लामा विगत एक महिनाभन्दा बढी समयदेखि बन्द जारी राखेकाले ती जिल्लामा बन्दको निकै प्रभाव परेको छ ।

प्रतिक्रिया