देशको आर्थिक र सामाजिक रुपान्तरण राजनीतिक दलको एजेन्डा बन्नुपर्दछ: नेता पोखरेल

इनेप्लिज २०७२ असोज ५ गते ७:२७ मा प्रकाशित

sankhar pokhrelपोखरा, ५ असोज । नेकपा (एमाले) स्थायी समितिका सदस्य शङ्कर पोखरेलले नयाँ संविधान घोषणासँगै मुलुक नयाँ युगमा प्रवेश गरेकाले अब देशको आर्थिक र सामाजिक रुपान्तरण राजनीतिक दलको एजेन्डा बन्नुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा (एमाले)बाट कास्की क्षेत्र नं ३ मा निर्वाचित सभासद् रवीन्द्र अधिकारीले नेपालको संविधान पारित भई घोषणा भएको उपलक्ष्यमा आज पोखरा सभागृहमा आयोजना गर्नुभएको चियापान समारोहलाई सम्बोधन गर्दै नेता पोखरेलले अधिकारको लडाइँ धेरै समय लडेकाले अब देशको समृद्धितर्पm लाग्न सबैसँग आग्रह गर्नुभयो ।

यो गतिशील संविधानको दस्तावेज शिलालेख नभएको, असहमतिका बुँदालाई वार्ता र छलफलबाटै समाधान खोज्न सकिने धारणा राख्दै उहाँले अब नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भएकामा खुसी व्यक्त गर्नुभयो ।

मधेसी समुदायले विगतको तुलनामा हक र अधिकार बढी नै पाएको उल्लेख गर्दै नेता पोखरेलले अब समस्याको समाधान संविधानभित्रबाटै खोज्नुपर्ने धारणा राख्नुभयो ।

सभासद् रवीन्द्र अधिकारीले सात दशकदेखि संविधानसभाबाट संविधान पाउने नेपाली जनताको आकाङ्क्षा पूरा भएको बताउनुभयो ।

प्रतिक्रिया