कम्प्युटर शिक्षाले निरन्तरता पाउन सकेन

इनेप्लिज २०७२ असोज ५ गते ३:५० मा प्रकाशित

computerबाबियाचौर (म्याग्दी), ५ असोज । म्याग्दीका सामुदायिक विद्यालयमा सञ्चालनमा ल्याइएको कम्प्युटर विषयको पठनपाठन दिगो बन्न सकेको छैन । कम्प्युटर कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत र दक्ष जनशक्तिको अभावमा सामुदायिक विद्यालयले सुरु गरेको कम्प्युटर विषयको पठनपाठनले निरन्तरता पाउन नसकेको हो ।

विसं २०६८ मा विद्यालयको आन्तरिक स्रोत र शिक्षा कार्यालयको सहयोगमा कम्प्युटर खरिद गरी निमावि तहमा ऐच्छिक विषयमा कम्प्युटर विषयको पठनपाठन सुरु गरेको जयन्ती मावि भकिम्लीमा रहेका कम्प्युटर अहिले प्रयोगविहीन अवस्थामा थन्किएका छन् । रु तीन लाखभन्दा बढी लगानी गरेर १० वटा कम्प्युटर खरिद गरेर विद्यालयको निमावि तहमा ऐच्छिक विषयको पठनपाठन सञ्चालन गरिएको थियो ।

कम्प्युटर विषय अध्यापन गराउने शिक्षक विदेश पलायन भएपछि दक्ष शिक्षक नपाएको र तलब खुवाउने स्रोत नहुँदा २०७० सालदेखि सो विषयका पठनपाठन सञ्चालन गर्न नसकेको जयन्ती माविका प्रअ रामबहादुर पुनले बताउनुभयो । जयन्ती मावि मात्र होइन कम्प्युटर कक्षा सञ्चालन गरेका म्याग्दीका अधिकांश विद्यालयको समस्या उस्तै छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार म्याग्दीका ५८ मावि र ३३ वटा निमाविमा कम्प्युटरको पहुँच छ । ३० वटा माध्यमिक विद्यालयले कम्प्युटर कक्षा सञ्चालन गरेका छन् । केही विद्यालयले विद्यार्थीबाहेक समुदायका अन्यलाई पनि कम्प्युटर प्रशिक्षण दिएर सोही शुल्कबाट तलब स्रोत जुटाउने प्रयत्न गरेका छन् भने अधिकांशमा दक्ष शिक्षक र आर्थिक स्रोतको समस्या देखिएको छ ।

प्रतिक्रिया