काठ, दाउरा बेचेर सामाजिक काम

इनेप्लिज २०७२ असोज ५ गते ३:४९ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), ५ असोज । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समूहले काठ, दाउरा बेचेर भएको आम्दानी सामाजिक काममा लगानी गरेको छ ।

वनको आम्दानी संरक्षण र व्यवस्थापनका साथै गाउँको शिक्षा, आयआर्जन वृद्धि, स्वास्थ्य, विद्युतीकरण र विकास निर्माणका काममा लाखौँ लगानी गरिएको हो । ४२ हेक्टर क्षेत्रफलमा फैलिएको ५३५ घरधुरी उपभोक्ता रहेको समूहले वार्षिक आम्दानीको २५ प्रतिशत वन व्यवस्थापन, ३५ प्रतिशत गरिबी निवारणका लागि सदस्यको आयआर्जन र ४० प्रतिशत सामाजिक काममा लगाउने गरेको अध्यक्ष टेकबहादुर बानियाँले बताउनुभयो ।

राष्ट्रिय मावि नेप्टेचौरका निजी स्रोतका शिक्षकलाई तलब खुवाउन मासिक रु १० हजारका दरले सहयोग गर्दै आएको समूहले काउलेगौडामा बालविकास केन्द्र स्थापना गर्न रु ५० हजारका साथै अभिभावक गुमाएका बालिका, प्रसूति गृह, समाधिस्थल, चौतारी निर्माण, बाटो मर्मतजस्ता काममा सहयोग गरेको जनाएको छ । समूहमा आबद्ध विपन्न वर्गका ७२ सदस्यको आयआर्जन वृद्धिका लागि घुम्ती कोषमार्फत सहुलियत ब्याजदरमा बाख्रा, कुखुरापालन, भैँसीपालन र तरकारी खेती गर्न रु सात लाख परिचालन गरिएको छ ।

सल्लाका रूखले भरिएका चारवटा ब्लक रहेको वनको संरक्षण र व्यवस्थापन गर्नका लागि तयार गरिएको ६० वर्षे कार्ययोजनाअनुसार वार्षिक रुपमा उपभोक्तालाई बिक्री गरिने ६ हजार क्युफिट काठ, घाँस, दाउरा र खोटो बेचेर बैंकमा राखिएको नगदबाट प्राप्त हुने ब्याज समूहको आयस्रोत हो ।
पछिल्लो समय सामुदायिक विद्यालयमा निजी स्रोतका शिक्षकलाई तलब खुवाउने, खानेपानी, विद्युतीकरण, भवन निर्माणका साथै विपन्न समुदायलाई आयमूलक काममा संलग्न बनाउन पनि सामुदायिक वन समूह सहयोगी बनेका छन् । तीन सय सामुदायिक वन रहेको म्याग्दीमा हालसम्म वन क्षेत्रबाट भएको योगदानको खोजी गर्ने काम भने भएको छैन ।

प्रतिक्रिया