माईपोखरीमा पानीको सतह बढ्दै

इनेप्लिज २०७२ असोज ५ गते ३:४५ मा प्रकाशित

Mai-pokhariइलाम, ५ असोज । पूर्वकै धार्मिक तथा पर्यटकीयस्थल इलामको माईपोखरीमा यतिबेला पानीको सतह बढ्दै गएको छ । तीन वर्षदेखि निरन्तर रूपमा पानीको सतह घट्न गएकामा यसपटक भने पानीको सतह पहिलेकै अवस्थामा पुग्न लागेको हो ।

विसं २०६८ असोजमा गएको भूकम्पपछि पानी सुक्दै गए पनि हाल आएर पानीको सतह पहिलेकै अवस्थामा पुगेको हो । पानी बढेर पोखरीको उत्तरपट्टिको सिँडीसम्म पुगेको सुलुबुङका युवराज पौडेलले बताउनुभयो । पानीको सतह बढेपछि बिग्रिँदै गएको माईपोखरीको स्वरूप क्रमशः पहिलेकै अवस्थामा पुगेको छ । पानी बढेपछि अहिले आन्तरिक पर्यटक आगमनसमेत बढेको छ ।

यहाँको सिमसार र जैविक विविधताले महत्वपूर्ण मानिएको माईपोखरी रामसार क्षेत्र हो । यसलाई अतिसंवेदनशील क्षेत्रसमेत मानिँदै आएको बालमण्डल उच्च मावि शिक्षक टीकानाथ पौडेल बताउनुहुन्छ । नयाँ वर्ष र ठूली एकादशीका दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ । इलाम सदरमुकामबाट करिब १३ किलोमिटर उत्तर तथा समुद्र सतहदेखि दुई हजार एक २१ मिटर उचाइमा रहेको माईपोखरी र आसपासको वन क्षेत्रमा रैथाने गलैँचे झ्याऊ, रूख भ्यागुतो, ठकठकेजस्ता लोपोन्मुख वनस्पति र वन्यजन्तु पाइन्छन् ।

यहाँ तीन सयभन्दा बढी प्रजातिका चरा, १६ प्रजातिका सुनाखरी, गुराँस, चिराइतो, कुड्की, विखमा, लौठसल्लालगायत ६२ प्रजातिका जडीबुटी, तीन प्रजातिका रैथाने माछा, छ किसिमका उभयचर, १२ प्रजातिका सर्प र १४ प्रजातिका स्तनधारी प्राणी पाइन्छन् । १० हेक्टर क्षेत्रफल भएको जमिनमा फैलिएको माईपोखरीको दुई हेक्टर जलाशयसहित १२ हेक्टर क्षेत्रफललाई जैविक विविधताको दृष्टिले संवेदनशील मानिन्छ । पोखरीवरिपरि २१ वटा साना सिमसार क्षेत्र रहेका छन् ।

प्रतिक्रिया