सरकारी चरण खर्कमा घरैघर, सम्बन्धित निकाय बेखबर

इनेप्लिज २०७२ असोज ५ गते ३:३४ मा प्रकाशित

जिरी, ५ असोज । पशु विकास फार्म जिरीको मातहतमा सञ्चालनमा रहेको लहरे गाईफार्म २०५६ सालमा विस्थापित भएसँगै सो जग्गामा स्थानीयवासीको अतिक्रमण तीव्र गतिमा बढेको छ ।

गाईफार्म विस्थापित भएपछि गाई फार्मले भोगचलन गर्दै आएको सरकारी खर्क अलपत्र छाडिएपछि स्थानीयवासीले होडबाजीमा नै भौतिक संरचना निर्माण गर्ने क्रम बढेको हो ।

सम्बन्धित निकायको चासो नपुग्दा नियम विपरीत सरकारी जग्गाको दुरुपयोग भएको हो । विसं २०५६ सम्म सञ्चालनमा रहेको गाई फार्म तत्कालीन नेकपा माओवादीको एक समूहले विस्थापित गराई दिएपछि २०५७ सालदेखि नै स्थानीयवासीले अतिक्रमण सुरु गरेका हुन् । हाल अतिक्रमण गरी ४० वटा भन्दा बढी भवन निर्माण भइसकेको छ । विसं २०५७ मा गर्जङ देउराली सडकखण्डको तल्लो भागबाट २१ वटा घडेरी समिति बनाएर जट्टेश्वरी उच्च माध्यमिक विद्यालयले घडेरीको भाडा मासिक एक सय रुपैयाँ विद्यालयलाई भुक्तानी गर्ने सहमतिमा घर निर्माण भएको थियो । तर सरकारी चरण खर्क ऐनलाई हेर्ने हो भने यसो गरिनु कानुन विपरीत भएको छ ।

त्यस्तै सडकको माथिल्लो भागबाट बनेको सबै घर आफूखुसी अतिक्रमण गरी निर्माण गरिएको र अहिले सरकारी जग्गामा केही स्थानीयवासी अड्डी जमाएर बसेको नाम नखुलाउने सर्तमा एक स्थानीयवासीले बताएका छन् । पशु विकास फार्म जिरीले भने सरकारी खर्क भएकाले मात्र आफूहरुले विगतमा भोगचलन गर्ने गरेको बताउँदै आएको छ । द्वन्द्वकालमा चुचुरे गाविसको गाई फार्म विस्थापित भएसँगै सबै सरकारी खर्कको पशु विकास फार्म जिरीसँग कुनै सम्बन्ध नरहेको समेत फार्म प्रबन्धक सुधिर सिंहले स्पष्ट पार्नुभयो ।

चरण खर्क राष्ट्रियकरण ऐन २०३१ अनुसार सम्पूर्ण सरकारी चरण खर्क जिल्ला विकास समितिको मातहतमा रहेको र स्थानीय निकाय (गाविस वा नगरपालिका)ले अतिक्रमण हुनबाट रोक्नुपर्ने र सरकारी खर्कमा घाँस उत्पादन गरी स्थानीयवासीले गाईवस्तु चराउन पाइने व्यवस्था भएको भन्दै कोही कसैले व्यक्तिगत प्रयोजनका लागि यसरी भौतिक संरचना बनाउन नहुने तर यदि कसैले यसो गरेमा स्थानीय निकायले नियन्त्रण गर्नुपर्ने फार्म प्रबन्धक सिंह बताउनुहुन्छ । यता चुचुरे गाविसका गाविससचिव नरेश गिरीले यो विषयमा आफूलाई जानकारी नभएको र आफू नयाँ भएको भन्दै समस्याबाट पन्छिन खोज्नुभएको छ ।

प्रतिक्रिया