सुनसरीमा जिरोटिलेज प्रविधि सुरु

इनेप्लिज २०७२ असोज ५ गते ३:२७ मा प्रकाशित

इनरुवा, ५ असोज । सुनसरीको विभिन्न ग्रामीण तथा सहरी क्षेत्रका किसानले जिरोटिलेज(धान काट्ने मेसिन) प्रविधि सुरु गरेको छ ।

जिल्लाको प्रकाशपुर, भोक्राहा, कप्तानगज, सिमरिया र दुहबीभलुवा नगरपालिकामा जिरोटिलेज प्रविधि सुरु गरेको जिल्ला कृषि विकास कार्यालय सुनसरीका बाली विकास अधिकृत सुदीप रेग्मीले बताउनुभयो । जिल्लाको चार गाविस र एक नगरपालिकाका किसानले धान, गहुँ र मकैमा जिरोटिलेज प्रविधि सुरु गरेको कार्यालयले जनाएको छ ।

विगत २ वर्षदेखि जिल्ला कृषि विकास कार्यालय सुनसरी र क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराको संयुक्त प्रयासमा एसआरएफएसआई कार्यक्रममार्फत जिरोटिलेज प्रविधि किसानमा लगिएको बाली विकास अधिकृत रेग्मीले बताउनुभयो ।

अस्ट्रेलियन सरकारको आर्थिक सहयोग र सिआइएमएमवाइटीको प्राविधिक सहकार्यमा नेपालका दुई जिल्लामा सुरु गरिएको कार्यक्रमअन्तर्गत सुनसरीमा समेत उक्त प्रविधि अनुसन्धान, परीक्षण एवम् प्रसार भइरहेको कृषि विकास कार्यालयका प्रमुख डा रवीन्द्रनाथ चौवेले जानकारी दिनुभयो ।

जिल्लामा उत्पादन लागत कम गर्ने, कृषि यन्त्रीकरण प्रयोगबाट कृषि जनश्रमको अभावलाई कम गर्ने, बाली सघनतामा वृद्धि गर्ने र खेत स्तरमा रहेको झारपातलाई खेतमै कुहाएर उत्पादन बढाई गरिबी न्यूनीकरण गर्ने उद्देश्यले जिरोटेलिज प्रविधि सुरु गरेको हो ।

जिल्लाका पाँच गाविसका ११० किसानमा विभिन्न खेती प्रणालीअन्तर्गत गरिएको अनुसन्धान र प्रसारमध्ये गहुँ र मकैमा किसान स्तरमा सफल भइसकेको जानकारी क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा सुनसरीका क्षेत्रीय निर्देशक डा हरिकृष्ण श्रेष्ठले दिनुभयो । जिरोटेलिजले गहुँ र मकैमा सफल भई किसान आफैंले खेती गर्न सुरु गरेका छन् भने अब धानमा परीक्षण भइरहेको क्षेत्रीय निर्देशक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया