बुधबार, मंसिर १० २०७७
काठमाडौं २२:४९
वासिङटन डिसी 12:04

संविधान जारी भएपछि खिलराज रेग्मीले यसो भने

इनेप्लिज २०७२ असोज ४ गते १४:०३ मा प्रकाशित

Khilaraj-regmiकाठमाडौं, ४ असोज । अन्तरिम मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले मुलुकले संविधानसभाबाट संविधान पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउनुभएको छ ।

संविधान प्रारम्भ भएको खुसियालीमा आज सिंहदरबारमा आयोजित चियापान कार्यक्रममा रेग्मीले रासससँग प्रतिक्रिया दिँदै भन्नुभयो, “संविधान जारी हुँदा म जतिको खुसी मान्छे यो नेपाली धर्तीमा अर्काे को होला भन्ने मेरो आत्माले भनिरहेको छ ।”

संविधान जारी हुन नसकी २०६९ जेठ १४ मा पहिलो संविधानसभाको विघटन भएपछि उत्पन्न राजनीतिक र संवैधानिक जटिलताको स्थितिमा राजनीतिक सहमतिका लागि रेग्मीलाई अन्तरिम मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको थियो । उहाँकै नेतृत्वको सरकारले २०७० मङ्सिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन भएको थियो ।

उहाँले संविधानका बारेमा केही दल र समूहले असन्तुष्टि जनाएको अवस्थामा वार्ताबाट निकास निकाल्न सकिने विश्वास पनि व्यक्त गर्नुभयो ।

रेग्मीले भन्नुभयो, “यत्रा क्रान्ति र आन्दोलनलाई समेट्दै आएको राज्य संयन्त्रले राष्ट्र र जनताको हितलाई शिरमा राखेर सहृदयातापूर्वक नमिलेका र कमजोरीका विषयमा छलफलमा बसेर निकास निकाल्न सकिनेछ ।”

उहाँले संविधानपछि मुलुक शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढ्ने पनि बताउनुभयो ।

प्रतिक्रिया