मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०९:५५
वासिङटन डिसी 23:10

एपीएफविरुद्ध आर्मी क्लबको जित

इनेप्लिज २०७२ असोज ३ गते १४:२५ मा प्रकाशित

काठमाडौँ, ३ असोज । राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल आर्मी क्लब विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बल (एपीएफ क्लब)माथि १–० ले विजयी भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा आर्मीका टेकबहादुर बुढाथोकीले ७१औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएपछि आर्मीको लिगमा अपराजित यात्रा कायम रहेको छ ।

टेकबहादुरले सन्तोष तामाङको फ्री किक प्रहारलाई सदुपयोग गर्दै हेडिङ्मार्फत गोल गरेका हुन् । मध्यान्तरअघि दुबै पक्षले केही राम्रा गोलका अवसर खेर फालेका थिए ।

मध्यान्तरपछि एपीएफले खेलमा फर्कने प्रयास गरेको थियो । खेल सकिन लागेको अतिरिक्त समयमा आर्मीका कप्तान भरत खवासले दोहोरो पहँेलो कार्ड खाँदै मैदान छोडेपनि एपीएफलाई खेलमा फर्कन ढिला भइसकेको थियो । एपीएफका जङ्बु शेर्पाले अन्तिम समयमा पाएको बराबरी गर्ने सुन्दर अवसर खेर फालेपछि आर्मीको जित सुनिश्चित भयो ।

खेलपछिको पत्रकार सम्मेलनमा आर्मीका प्रशिक्षक मेघराज केसीले टोलीको जितमा खुसी भएको प्रतिक्रिया दिँदै उपाधि भिडन्तका लागि अन्तिम खेलसम्म डटेर खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एपीएफका प्रशिक्षक कृष्ण थापाले आफ्नो टोलीले राम्रो खेलेपनि गोल गर्न नसक्दा तीन अङ्क गुमाउनुपरेको प्रतिक्रिया दिनुभयो ।

नौ खेल खेलेको आर्मी १७ अङ्कका साथ लिगको पहिलो स्थानमा छ भने आठ खेलमा १४ अङ्क जोडेको एपीएफले चौथो स्थानमा चित्त बुझाएको छ । प्रतियोगिताअन्तर्गत सोमवार नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।

प्रतिक्रिया