नेपालमा संविधान बन्दा भारत असन्तुष्ट

इनेप्लिज २०७२ असोज ३ गते १४:२२ मा प्रकाशित

india-flagकाठमाडौं, ३ असोज । नेपालमा संविधान घोषणा हुने वित्तिकै भारतले विज्ञप्ती निकालेर आफ्नो अडान र असन्तुष्टि फेरि पनि दोहोराएको छ ।

आइतबार साँझ संविधानको औपचारिक घोषणा भएपछि भारतीय विदेश मन्त्रालयले निकालेको विज्ञप्तीमा स्पष्टसँग संविधानको स्वागत गरिएको छैन् । भारतले नयाँ संविधानले देशमा सद्भाव, प्रगति र विकासको आधारशिला खडा गर्ने कुरा मात्रै विज्ञप्तीमा जनाएको छ ।

विज्ञप्तीमा उल्लेख गरिएअनुसार तराई-मधेसमा आन्दोलनरत दललाई सहमतिमा नल्याएरै संविधान जारी गरेपछि भारतले स्वागत नगरी असन्तुष्टि जनाएको हो । ‘संविधान निर्माणको प्रक्रियामा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान बनाउन भारतले निरन्तर सहयोग गरिरहेको थियो । तर, त्यसो भएन् ।’ – विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तीमा भारतसँग सीमाना जोडिएका नेपालका विभिन्न भागमा हिंसात्मक घटना भइरहेकोप्रति चासो समेत भारतले व्यक्त गरेको छ । यस विषयमा काठमाडौंमा रहेका भारतीय राजदूतले नेपालका प्रधानमन्त्रीसँग चासो व्यक्त गरिसकेको विज्ञप्तीमा उल्लेख छ ।

विवादित विषयलाई वार्ताका माध्यमबाट समाधान गर्नु पर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै भारतले सबैले संविधानलाई स्वीकार र अपनत्व महसुस गरेमा यसले सद्भाव, प्रगति र विकासको आधारशिला खडा गर्ने जनाएको छ ।

प्रतिक्रिया