शनिबार, मंसिर २० २०७७
काठमाडौं ०९:०९
वासिङटन डिसी 22:24

ओमनसँग नेपाल पराजित

इनेप्लिज २०७२ असोज ३ गते १३:१३ मा प्रकाशित

foot-1024x680काठमाडौँ, ३ असोज । एएफसी सोह्र वर्षमुनि उमेर समूहको (यु–१६) च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल ओमनसँग पराजित भएको छ ।

कीर्गिस्तानस्थित डोलोन ओमनुजाकोभ रङ्गशालामा भएको सो प्रतियोगितामा नेपाली युवा टोली ओमनसँग ३–१ गोलअन्तरले पराजित भएको हो । यस हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सपना यसपटक पनि चकनाचुर भएको छ ।

अघिल्लो वर्ष थाइल्याण्डमा भएको एएफसी यु–१६ च्यम्पियनसीप छनोटमा पनि नेपाल असफल भएको थियो । त्यतिबेला नेपालले कुवेतलाई मात्र पराजित गरेको थियो भने उज्वेकिस्तान र उत्तर कोरियासँग पराजित हुँदै घर फर्किएको थियो ।

यसपटक भने जारी प्रतियोगितामा नेपाल लगातार दोस्रो जित निकाल्दा पनि ओमनसँगको हारले घर फर्कन बाध्य बन्यो । त्यसो त नेपालको अघिल्लो चरणमा प्रवेश गर्ने या नगर्ने भन्ने सम्भावना अन्य राष्ट्रको खेलको नतिजामा भर पर्नुपर्नेछ ।

पहिलो खेलमा नेपालले जोर्डनलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गर्न सफल भएको थियो । त्यस्तै, दोस्रो खेलमा घरेलु टोली कीर्गिस्तानलाई ४–२ ले पराजित गरेको थियो ।

एसियाली फुटबल महासङ्घले आफ्ना सदस्य राष्ट्रका ४५ टोलीलाई ११ समूहमा विभाजन गरेको उक्त छनोट प्रतियोगितामा नेपाल शीर्ष चारभित्र परेमा मात्र नेपालको अघिल्लो चरणको सम्भावना हुनेछ अन्यथा नेपाल प्रतियोगिताको छनोटबाट बाहिरिनेछ ।

प्रतियोगितामा नेपालले छ अङ्क जोडेको छ भने ओमनको पनि समान छ अङ्क नै छ । तर आज साँझ हुने कीर्गिस्थान र जोर्डनबीचको खेलमा कीर्गिस्थानले जोर्डनलाई पराजित गरेमा वा बराबरी रोकेमा मात्र नेपालको अघिल्लो चरणको सम्भावना हुनेछ अन्यथा प्रतियोगिताबाट बाहिरिनेछ ।

प्रतियोगितामा ओमनले खेलको पहिलो हाफमा दुई गोल ग¥यो भने दोस्रो हाफमा एक गोल थप्यो । ओमनले खेल सुरुवाती ११औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोल्यो भने खेलको पहिलो हाफकै अन्तिम समय ४५औँ मिनेटमा थप एक गोल गरेको थियो ।

त्यस्तै नेपालका खेलाडी प्रिजेन तामाङले खेलको ९०औँ मिनेटमा पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काएका थिए । तामाङले गोल फर्काएको करिब तीन मिनेट पनि बित्न नपाउँदै ओमनका खेलाडीले खेलको दोस्रो हाफको अतिरिक्त समयमा (९० प्लस ३ मिनेट) एक गोल थप्दै ओमनले ३–१ को सहज जित निकाल्यो ।

विभिन्न ११ समूहमा विभाजित उक्त प्रतियोगितामा समूहको शीर्ष स्थान हासिल गर्ने ११ टोली, शीर्ष चार स्थान हासिल गर्ने उपविजेता टोली र आयोजक भारत गरी १६ टोलीले आगामी वर्ष भारतमा हुने एएफसी च्याम्पियनसिपमा सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया