शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०७:०१
वासिङटन डिसी 20:16

संविधान घोषणापछि राष्ट्रपतिले के भने ?

इनेप्लिज २०७२ असोज ३ गते १३:१० मा प्रकाशित

rambaran-yadav-Sambidhan-ghosanaकाठमाडौँ, ३ असोज । राष्ट्रपति डा रामवरण यादवले पारस्परिक एकता, सहिष्णुता र मेलमिलापका साथ संविधानसभाबाट प्राप्त जनताका अधिकार, सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनालाई संरक्षण तथा प्रवद्र्धन गर्न आह्वान गर्नुभएको छ ।

नेपालको संविधान, २०७२ को घोषणापछि संविधानसभाको बैठकलाई आज साँझ सम्बोधन गर्दै उहाँले संविधानको घोषणा भएसँगै लोकतान्त्रिक आन्दोलन र दिगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनाले मूर्तरुप लिएको बताउनुभयो ।

राष्ट्रपति डा यादवले भन्नुभयो “यस अवसरमा लोकतान्त्रिक आन्दोलनका शहिद, सहयात्री जनता र जननायकप्रति सम्मान प्रकट गर्दछु । संविधानको घोषणासँगै हाम्रो देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ ।”

नेपाली जनतामा निहित सार्वभौमसत्ता, राज्य शक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यता स्थापित भएको पनि उहाँले उल्लेख गर्नुभयो ।

सङ्घीयता र गणतन्त्रसहितको हाम्रो बहुदलीय शासन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्वको आधारसहित अन्य विषय संविधान कार्यान्वयनको क्रममा अझ फराकिलो र विस्तृत हुँदै जाने राष्ट्रपति डा यादवको भनाइ थियो ।

दिगो शान्ति, राजनीतिक स्थायीत्व र समानुपातिक आर्थिक विकासको बाटोमा तिब्रताका साथ अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति डा यादवले भन्नुभयो, “हाम्रो देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त रहेको छ । नयाँ संविधानले सबै क्षेत्र र समुदायका जनताको आकांक्षा र अधिकार, भाषा, भेषभूषा, संस्कृति र पहिचानलाई समान ढङ्गले संरक्षण र सम्वद्र्धन गर्नेछ । ”

विविधताको बीचमा एकतामा जोड दिँदै सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्ने मौका यस संविधानले प्रदान गर्ने उहाँले बताउनुभयो ।

राष्ट्रपति डा यादवले भन्नुभयो “हिमाल, पहाड र तराई मधेसका सम्पूर्ण दिदीबहिनी दाजुभाईलाई यस ऐतिहासिक अवसरमा पारस्परिक एकता, सहिष्णुता, सहकार्य र मेलमिलापका साथ यस संविधानबाट प्राप्त भएका जनताका अधिकार, उपलब्धी र सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्रतात्मक राज्य संरचनालाई संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न आह्वान गर्दछु ।”

संविधान गतिशील दस्तावेज भएकाले यसको सफल प्रयोग गर्दै सामाजिक न्याय, अधिकार र समृद्धि प्राप्त गर्नसमेत निरन्तर क्रियाशिल रहन आग्रह गर्दै राष्ट्रपति डा यादवले जनताका प्रतिनिधिद्वारा संविधानसभाबाट पारित यो संविधान नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहित सार्वभौमसत्ताको रक्षा गर्ने साझा सङ्कल्पको दस्तावेज भएको बताउनुभयो ।

यो ऐतिहासिक दस्तावेज नेपालको संविधानको निर्माणमा योगदान पुर्‍याउनु हुने नेपाली दिदीबहिनी तथा दाजुभाइका साथै संविधानसभाका सदस्यलगायत सबैलाई संविधानसभाका अध्यक्षमार्फत उहाँले धन्यवाद ज्ञापनसमेत गर्नुभयो ।

प्रतिक्रिया