दसैँः समावेशी चाड

इनेप्लिज २०७२ असोज ३ गते ३:५१ मा प्रकाशित

dashainकाठमाडौँ, ३ असोज । संस्कृतिविद् डा जगमान गुरुङले कुरुक्षेत्रको युद्धले तहसनहस पारेको तत्कालीन पौराणिक समाज र राष्ट्र जोगाउन रामायण र महाभारतका पात्रको नामबाट दसैँमा आशीर्वाद दिइने श्लोक निर्माण भएको र यो सबैको चाड भएको बताउनुभएको छ ।

साहित्य सन्ध्याको ३५३ औँ कार्यक्रम अन्तर्गत शनिबार आयोजित ‘दसैँ पर्व र यसको समावेशी ऐतिहासिकता’का बारेमा भएको परिचर्चामा उहाँले हामी नेपालीको पहिचान तथा हाम्रो सांस्कृतिक मान्यताको आधार हेर्ने हो भने हामीबीच जातीय समानता रहेको र हरेक जातजातिका मान्छेले आआफ्नै तरिकाले दसैँ मान्ने चलन रहेको बताउँदै भन्नुभयो– दसैँ भनेको समावेशी चाड हो, यसले तीन चार पुस्तालाई एकै ठाउँमा भेट गराइदिन्छ ।”
दर्शनशास्त्री विष्णु प्रभातले दसैँ मनाउने परम्परा तथा प्राचीन ग्रन्थ ऋग्वेदमा रहेका व्यवस्थाका बारेमा तथ्यगत रूपमा प्रकाश पार्नुभयो ।

सन्ध्याका भागवत आचार्यले समाज निर्माणमा साहित्यकारको महत्त्वपूर्ण भूमिका रहेको र हाम्रो नजिकिएको चाड दसैँका बारेमा समाजमा रहेको भ्रम निवारण गरी यसको समावेशी ऐतिहासिकताका बारेमा सबैमा जानकारी हुनुपर्ने बताउनुभयो ।
सो अवसरमा सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीकी माता चन्द्रमायाको ८६ वर्षको उमेरमा झापामा देहावसान भएकामा उहाँप्रति समवेदनाका साथ मिर्गौला रोगबाट पीडित उहाँकी धर्मपत्नीको शीघ्र स्वास्थ्यलाभको कामना गरियो ।
कार्यक्रममा कणाद महर्षि, मुकुन्द न्यौपाने, गोपाल नेपाल, जगत् वाशिष्ठ, जयन्ती स्पन्दन, रेशम विरही, वासुदेव अधिकारी, जङ्ग पहाडी, पुण्य गौतम ‘विश्वास’, डम्बर पहाडी, प्रेमराज सिलवाल, विष्णुप्रभा उपाध्याय, डा रामप्रसाद ज्ञवाली, भारद्वाज मित्र, आत्माराम शर्मा, मणिराज सिंह, नारायण निराशी, निर्भीक राई, सानु पहाडीलगायतले आआफ्ना कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।
सन्ध्याका अध्यक्ष राम विनय र उपाध्यक्ष रमेश पोखरेलले सन्ध्याले सामाजिक सांस्कृतिक रूपान्तरणको अभियान चलाइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया