शनिबार, मंसिर २० २०७७
काठमाडौं ११:५६
वासिङटन डिसी 01:11

मतदातासँग खुसी साट्न आतुर बन्दै सभासद्

इनेप्लिज २०७२ असोज १ गते १४:१३ मा प्रकाशित

Rss_Images_1442583963952_RS-KTM-singnatur-41काठमाडौँ, १ असोज । संविधानसभाबाट पारित संविधानमा आज हस्ताक्षर गर्न पुगेका सभासद् निकै हर्षित देखिनुका साथै जनताले दिएको जिम्मेवारी पूरा गरेकामा उहाँहरुमा गर्व थियो भने ती खुसी क्षण जनतासँग साट्ने उत्कृट इच्छा उत्तिकै देखिन्थ्यो ।

संविधानसभा सचिवालयले औपचारिक रुपमा आयोजना गरेको हस्ताक्षर समारोहमा पुग्ने प्रत्येक सभासद् जनतासँग गरेको प्रतिबद्धता पूरा भएको भन्दै एकआपसमा खुसी साटासाट गर्दै थिए ।

संविधानमा हस्ताक्षर गरिसकेपछि नेपाली काँग्रेसका तर्फबाट कास्कीको क्षेत्र–२ बाट निर्वाचित सभासद् शारदा पौडेलले आफूलाई कहिले जिल्ला पुगेर जिम्मेवारी पूरा गरेको खुसी साटाँै भन्ने लागिरहेको बताउनुभयो ।

“संविधानसभाबाट संविधान दिन्छु भन्ने मतदातासँगको प्रतिबद्धता साकार भएको छ”, उहाँले भन्नुभयो, “यो दिन नेपाली जनताको लामो समयदेखिको इच्छा साकार भएको महत्वपूर्ण दिन हो, देशमा लोकतान्त्रिक संविधान निर्माण भएको छ ।”

संविधान जारी भएपछि एक÷दुई दिनमै जिल्ला पुगेर विभिन्न कार्यक्रमका साथ मतदातासँग खुसी साट्ने जानकारी गराउँदै उहाँले संविधानपछि देशलाई आर्थिक समृद्धि र विकासको मार्गमा उन्मुख गराउन सबै लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

रुकुमबाट प्रतिनिधित्व गर्ने एनेकपा (माओवादी)का सभासद् गणेशमान पुनले नयाँ संविधानले सङ्घीयता, पहिचान, समावेशीतालगायतका धेरै कुरा समेटेको चर्चा गर्दै केही राजनीतिक दल तथा अल्पसङ्ख्यक समुदायको माग पूर्णरुपमा नसमेटिएका कारण तिनीहरुलाई पनि क्रमशः समेट्दै जानुपर्ने धारणा राख्नुभयो ।

“यो संविधान परिवर्तनशील संविधान हो”, उहाँले भन्नुभयो, “सकेसम्म सबै वर्ग र समुदायको मागलाई सम्बोधन गर्न सक्नुपर्छ ।” मतदातासँग यो महत्वपूर्ण खुसी साट्न आफू आतुर रहेको उहाँको भनाइ छ ।

नेकपा (एमाले)बाट धादिङ जिल्लाबाट प्रतिनिधित्व गरेका सभासद् राजेन्द्र पाण्डेले एक वर्षभित्रमा संविधान दिँदै देशलाई आर्थिक समृद्धि र विकासको मार्गमा लैजान आफूले गरेको प्रतिबद्धताअनुसार संविधान निर्माण सम्पन्न भएकाले अब आर्थिक समृद्धि र विकासका लागि क्रियाशील बन्न प्रतिबद्ध भएको बताउनुभयो ।

“नेपाली जनताको २००७ सालदेखि संविधानसभाबाट संविधान बनाउने आकाङ्क्षा साकार भएको छ”, उहाँले भन्नुभयो, “नेपाली जनताको यो खुसीयाली साटासाट गर्न संविधान जारी भएसँगै जिल्लामा गएर विभिन्न कार्यक्रम गरिनेछ ।”

महोत्तरीबाट प्रतिनिधित्व गर्ने सभासद् लालेन्द्रकुमार मण्डलले संविधानभाबाट संविधान निर्माण हुनु खुसीको कुरा भएको बताउँदै तराई क्षेत्रमा उठेका जायज मागलाई दलले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

“संविधान निर्माण भएको खुसीयालीमा तराई क्षेत्रमा पनि दीपावलीलगायतका कार्यक्रम राखिनेछ”, उहाँले भन्नुभयो, “नेपाली जनताका अधिकतम इच्छा र आकाङ्क्षालाई संविधानले समेटेको छ, नसमेटिएका कुरा पनि समेट्दै जानुपर्छ ।”

पाँचथरबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सभासद् भीष्मराज आङ्दम्बेले पहिचान भेटिने, जातीय द्वन्द्व मेटिने संविधान निर्माण गर्ने प्रतिबद्धताका साथ संविधानसभामा मत मागेकामा मतदाताका अधिकतम मागलाई संविधानले समेटेको धारणा राख्नुभयो ।

संविधान जारी भएको घोषणालगत्तै आफू संविधान बनेको यो खुसीयाली साट्न मतदातामाझ जाने बताउँदै उहाँले अहिले नसमेटिएका विषयलाई पछिल्ला दिनमा समेट्दै जानुपर्ने उल्लेख गर्नुभयो ।

कास्की जिल्लाको निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले)की सभासद् सीता गिरीले धेरै जनताका भावना समेटेको संविधान नेपाली जनताको महत्वपूर्ण उपलब्धि भएको धारणा व्यक्त गर्नुभयो ।

संविधान जारी भएको घोषणा हुनासाथ जिल्लामा गएर यो ऐतिहासिक उपलब्धिको मतादाताबीच खुसी साट्ने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो ।

ललितपुरबाट एनेकपा(माओवादी)बाट प्रतिनिधित्व गरेका सभासद् योगेन्द्र घिसिङले संविधानसभाले युगान्तकारी संविधान निर्माण गर्नु देशका लागि अत्यन्तै महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

संविधान जारी भएपछि क्रमशः नसमेटिएका असन्तुष्टिलाई समेत सम्बोधन गर्दै सबैको एकतामा देशलाई आर्थिक समृद्धि र विकासका लागि अघि बढाउनुपर्ने बताउनुभयो ।

धनुषा जिल्लाबाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सभासद् रामकृष्ण यादवले जनतामाझ संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान ल्याउने वाचा पूरा भएको बताउनुभयो ।

उहाँले ६५ वर्षअघि बिपी कोइरालाले नेपालको समृद्धि र विकास लागि संविधानसभाबाट संविधान ल्याउने चाहना व्यक्त गर्नुभएकामा त्यसले साकार रुप प्राप्त गरेको धारणा व्यक्त गर्नुभयो ।

संविधानसभाको निर्वाचनमा मतदातासँग गरेको एउटा महत्वपूर्ण प्रतिबद्धता पूरा भएको खुसीयालीमा आफू चाँडै नै जिल्लामा गएर यो खुसी मतादातासँग साट्न आतुर भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया