जोखिम मोलेर यात्रा गर्छन् भित्री मधेसवासी

इनेप्लिज २०७२ असोज १ गते २:०५ मा प्रकाशित

जोगबुडा (डडेल्धुरा), १ असोज । डडेल्धुराको भित्री मधेस क्षेत्रका बासिन्दा दिनहुँ बुढर जोगबुडा सडकखण्डमा जोखिम मोलेर यात्रा गरिरहेका छन् । सीमित मात्र गाडी चल्ने कच्चीबाटोमा खोलैखोला पार गर्नुपर्ने हुँदा यस क्षेत्रका यात्रुले जोखिमपूर्ण यात्रा गर्नु परिरहेका हुन् ।

बुढरदेखि जोगबुडा सडकखण्ड दूरीका हिसाबले ३० किलोमिटर मात्र भए पनि उक्त दूरी पार गर्न कम्तीमा तीन घन्टा गाडीमा यात्रा गर्नुपर्ने बाध्यता छ । डोटी जिल्लाको वुडर बजारबाट डडेल्धुराको भित्री मधेश जोगवुडा (हालको परशुराम नगरपालिका) पुग्न करिब ३० भन्दा बढी खहरेखोला पार गर्नुपर्ने भएकाले पनि यो सडकखण्डमा गाडी गुडाउन र यात्रुले पनि जोखिम उठाउनु परेको गाडी चालक गङ्गाराम भट्ट बताउनुहुन्छ ।

बर्खायाममा खोलाले बगाएर ल्याउने ढुङ्गामुढाका कारण प्रत्येक वर्ष सडकको मोहडा नै परिवर्तन हुने गरेको चालक भट्ट अनुभव सुनाउनुहुन्छ । यस सडकखण्डमा रहेका ठूला र साना खहरे खोलाका कारण सामान्य पानी पर्दा पनि बाटो बिग्रने भएकाले यहाँ गाडी चलाउने र चढ्ने सबैले जोखिम उठाउन परेको हो ।

पानी पर्दा पटकपटक बन्द हुने समस्या एकातिर छ भने यो सडकखण्डमा एक समय बिहान ११ बजेसम्म मात्र जोगबुडाको लाढुङ्गा बजारबाट गाडी छुट्ने हुँदा यात्रुलाई भनेको समयमा गाडी नपाइने भएकाले एकै गाडीमा धेरै यात्रुले यात्रा गर्नुपर्ने समस्या अर्कोतिर रहेको छ । सबै चालक र गाडी साहुले बाटोको खराबीका कारण यो रुटमा गाडी चलाउन र हाल्न नै नमान्ने उग्रतारा सार्वजनिक यातायातका कर्मचारी तेजबहादुर ऐरले बताउनुभयो । यो रुटमा राम्रो कमाइ हुने भए तापनि उच्च जोखिमका कारण र गाडीमा पनि चाँडै टायर, इन्जिन, गेरबक्सजस्ता कुरामा खराबी हुने भएकाले जो कोहीले त्यस रुटमा गाडी लैजान मन नगर्ने ऐरको भनाइ छ ।

यो सडक खण्डमा प्रत्येक वर्ष वर्षा समयमा मात्रै जिल्ला विकास समिति डडेल्धुरा र सडक डिभिजन कार्यालय कुलपातेले ठूलो रकम खर्च गर्ने गरेको भए पनि खहरेखोला र सडकखण्डमा जाने पहिरोका कारण यात्रुले पटकपटक जोखिमता मोल्नु परेको भित्री मधेसवासीको पीडा रहेको छ । वुडर जोगवुडा सडकखण्डमा रहेका खहरेखोलामा पुलको निर्माण नभएसम्म यात्रु र गाडी साहुले जोखिम उठाउनुपर्ने देखिन्छ । एउटा मात्र रुटमा यस्तो समस्या भएका कारण समयमा सडकका बारेमा सम्बन्धित पक्षले ध्यान नदिए ठूलो दुर्घटना नहोला भन्न सकिन्न ।

प्रतिक्रिया