सतबरियाका जनता टुकीमा नै रात गुजार्न बाध्य

इनेप्लिज २०७२ भदौ ३१ गते ४:१५ मा प्रकाशित

no-lightतुलसीपुर (दाङ), ३१ भदौ । विद्युत्को पोल गाडेको छ वर्ष बितिसक्दा पनि दाङको सतबरिया गाविस–९ अन्तर्गतका सात गाउँका बासिन्दाले अझै बिजुली बत्ती पाल्न पाएका छैनन् ।

सतबरिया गाविसका अमेलिया, जलकुन्ठी, कुलतारा, हर्दवा, हात्तीगौडा, हात्तीखाल, स्यालालगायतका बासिन्दाले आफूहरुको बिजुली बत्ती बाल्ने इच्छा अझै सपना झैं भएको बताएका छन् ।

ती गाउँमा करिब ६०० घरधुरी परिवार बसोबास गर्दै आएका छन् । अमेलिया निवासी जानका भण्डारीका अनुसार बिजुली बत्तीका लागि पटक पटक जिल्ला विद्युत् कार्यालयमा पुग्यौँ तर कुनै सुनुवाइ भएको छैन ।

पोल गाडेको छ वर्ष बितिसक्यो, पोल ढल्न सुरु भइसक्यो तर बिजुली भने कहिले आउने हो पोल हेर्दै टुकीले रात गुजारा गरेका छाँै हर्दवाका ७० वर्षीय वृद्ध शेषुराम चौधरीले बताउनुभयो ।

बिजुली बत्ती नहुँदा ती गाउँका विद्यार्थीलाई रातको समयमा पठनपाठन गर्न समस्या हुने गरेको छ भने ती गाउँका बासिन्दालाई कुटानी, पिसानीलगायतका काम गर्न पनि टाढा जानुपर्ने बाध्यता रहेको जनाइएको छ ।

प्रतिक्रिया