पाथेका स्वास्थ्य चौकीको भवन उद्घाटन

इनेप्लिज २०७२ भदौ ३१ गते ४:१२ मा प्रकाशित

खोटाङ, ३१ भदौ । जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख चिकित्सक माधवप्रसाद लम्सालले जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने पाथेमा निर्माण गरिएको स्वास्थ्य चौकीको भवन बुधबार उद्घाटन गर्नुभयो । रु एक करोड ४१ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

सरकारको नीतिअनुसार स्तरोन्नति भएको स्वास्थ्य चौकीको नयाँ भवनमा बिरामी भर्ना कक्ष, जाँच कक्ष, उपचार कक्ष, ड्रेसिङ कक्ष, क्षयरोगको प्रत्यक्ष निगरानी कक्ष, वर्थिङ कक्ष, स्वास्थ्यकर्मीको क्वाटरलगायतका छुट्टाछुट्टै कोठा भएकोे स्वास्थ्य चौकीका अहेब विष्णुप्रसाद सुवेदीले बताउनुभयो ।

भवन उद्घाटन कार्यक्रममा निःशुल्क जग्गादाता रमण गिरी, बमप्रसाद गिरी, जीतेन्द्रकुमार गिरी, डम्बर गिरी, विष्णु गिरी, अर्जुन गिरी र जयन्त गिरीलाई सम्मान पनि गरिएको छ ।  भवन निर्माणपछि पाथेका र छिमेकी गाविसका स्थानीयवासीलाई उपचारका लागि सहज वातावरण बनेको नव युवा फूलपाती सेवा समाजका अध्यक्ष धनप्रसाद गिरीले बताउनुभयो ।

जिल्लाका उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा स्तरोन्नति भएसँगै सोहीअनुसारको भवन बनाउनेक्रम जारी छ ।

एक अस्पताल, दुई प्राथमिक स्वास्थ्यकेन्द्र, २४ स्वास्थ्य चौकीसहित ७६ स्वास्थ्यसंस्था रहेको जिल्लाका ४७ उपस्वास्थ्य चौकीलाई एकैसाथ स्तरोन्नति गरिएको छ । गत साउनबाट लागू हुने गरी जिल्लाका ४७ उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गरिएको चिकित्सक लम्सालले जानकारी दिनुभयो ।

प्रतिक्रिया