अवैध रक्तचन्दन ओसारपसार गर्ने फरार प्रतिवादी पक्राउ

इनेप्लिज २०७२ भदौ २९ गते ११:१० मा प्रकाशित

rakta-chandanकाठमाडौँ, २९ भदौ । अवैध रक्तचन्दन ओसारपसारको कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी रुद्रनारायण तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतको २०७० जेठ ५ गतेको फैसलाले एक वर्ष कैद र नौ लाख ६४ हजार आठ सय रुपैयाँ जरिवाना ठहर भई कैद तथा जरिवाना बेरुजु रही हालसम्म फरार रहेका सिन्धुपाल्चोक धुस्कुन गाविस स्थायी घर भई काठमाडौँ बस्दै आएका ३९ वर्षीय तिमल्सिनालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज कोटेश्वरबाट पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनका लागि तिमल्सिनालाई काठमाडौँ जिल्ला अदालतमा पेस गरेकोमा उनलाई कैद सजाय भुक्तानका लागि डिल्लीबजार कारागारमा पठाइएको ब्यूरोले जनाएको छ ।

२०६८ साल भदौ १६ गते प्रहरी टोलीले काभ्रेको पाँचखालस्थित सडकखण्डमा चेकिङका क्रममा काठमाडौँदेखि सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा ६ च ४०३८ नं को निसान चेरी कारको पछाडिको सिटमुनि लुकाइराखेको अवस्थामा ६ सय तीन किलो बराबरका २० थान रक्तचन्दन गोलिया बरामद गरेकोमा बरामद भएको रक्तचन्दनको धनी प्रतिवादी तिमल्सिनालाई वन ऐन, २०४९ बमोजिम सो सजाय हुने गरी अदालतले फैसला गरेको थियो ।

प्रतिक्रिया