बन्द खुलाउने वातावरण बनाउन आग्रह

इनेप्लिज २०७२ भदौ २७ गते ३:३२ मा प्रकाशित

Bandaपथरी (मोरङ), २७ भदौ । लगातार एक महिनादेखि भएको बन्द सर्वसाधारणलाई समस्या परेको जनाई सचेत नागरिक अभियानले बन्द खुलाउने वातावरण सिर्जना गर्न सरकार तथा आन्दोलनरत दललाई आग्रह गरेको छ ।

विराटनगरको ट्राफिकचोकमा शनिबार साँझ आयोजित कार्यक्रममा अभियानले सरकार र आन्दोलनरत पक्षबाट अविलम्ब वार्ता गरी मुलुकलाई समाधान दिनुपर्ने माग गरेको छ । लामो समयदेखिको बन्द र हडतालबाट सबै क्षेत्र अस्तव्यस्त भएकाले दुवै पक्षलाई सकारात्मक भएर वार्तामा आउने वातावरणका लागि दबाब दिइएको हो ।

कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले बन्द र हडतालका कारण करिब ३२ दिनदेखि विराटनगरलगायत पूर्वी तराईको जनजीवन निकै कष्टकर भएको बताउनुभयो । इन्सेकका क्षेत्रीय संयोजक सोमराज थापाले बालबालिकाको पढाइ प्रभावित भएको लामो समय बितिसकेको तर त्यसमा कुनै पक्ष गम्भीर नदेखिएको बताउँदै आन्दोलनरत पक्षलाई वार्तामा लगेर सबै क्षेत्र सञ्चालन गराउने वातावरणमा सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया