बुधबार, मंसिर १० २०७७
काठमाडौं ०७:५०
वासिङटन डिसी 21:05

ह्वाइट हाउसबाट अमेरिकी राष्ट्रपति ओबामाको विशेष सन्देशः सतर्क भएर बस्नुहोस्

इनेप्लिज २०७२ भदौ २६ गते ११:२५ मा प्रकाशित

 

 

barak-obama-2

काठमाडौं, २६ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतङ्कवादका विरुद्धमा सतर्क भएर बस्न आग्रह गर्नुभएको छ ।

चौध वर्ष अघि सेप्टेम्बर ११ का दिन संयुक्त राज्य अमेरिकामा भएको आतङ्कवादी हमलाको स्मरणमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले सबै अमेरिकी नागरिकलाई सो आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

हुनत अमेरिकी सुरक्षा प्रणालीले आतङ्कवादीहरुका विरुद्धमा धेरै काम गरिसकेको छ र उनीहरुको त्यस्तो कुनै पनि खतरा छैन, तरपनि अमेरिकी माटोमा अझैपनि उनीहरुको अस्तित्व नै छैन भन्न मिल्दैन– उहाँले भन्नुभयो ।

अमेरिकी ट्वीन टावरमा भएको हमलाको १४ औँ स्मृति दिवसका क्रममा शुक्रबार राति भएको श्रद्धाञ्जली सभामा उहाँको यो भनाई आएको हो । उहाँले सबै अमेरिकी नागरिकलाई आतङ्कवादीका विरुद्धमा सतर्क रहन तथा निगरानी गर्न आग्रह गर्नुभएको ह्वाइट हाउसबाट प्राप्त समाचारमा जनाइएको छ ।

अहिले पनि इराक र सिरिया अनि अफगानिस्तान र उत्तरी अफ्रिकामा जारी रहेका आतङ्कवादी क्रियाकलापहरु अमेरिका तथा अरु संसारका लागि पनि सुरक्षा खतरा नै हुन् भन्दै यसका लागि सबैले सतर्कता अपनाउनुपर्नेमा उहाँको जोड थियो ।

न्युयोर्कको वल्र्ड ट्रेड सेन्टरमा शुक्रबार राति तीन पटकसम्म घन्टी बजाइयो र मौन धारण गरिएको थियो । त्यस समयमा राष्ट्रपति ओबामा, अमेरिकी प्रथम महिलासहितका अधिकारीहरुले ह्वाइटहाउसमा एक मिनेटसम्म मौन धारण गर्नुभएको थियो ।

US-POLITICS-OBAMA-TROOPSसन् २००१ को सेप्टेम्बर ११ मा न्युयोर्कको सो टावरमा विश्व आतङ्कवादी सञ्जाल अल कायदाले गरेको आतङ्ककारी आक्रमणमा परी कम्तीमा पनि तीन हजार जना अमेरिकी नागरिकको ज्यान गएको थियो ।

राष्ट्रपति ओबामाले सोसियल मिडियामा गर्नुभएको पोष्टमा भन्नुभएको छ– जो आतङ्ककारीको शिकार भएर मरेर गए उनीहरुप्रति हाम्रो सम्मान छ र जो बाँचेका छन् उनीहरुले पनि हाम्रो सुरक्षाका लागि बाँचेका छन् उनीहरुप्रति पनि हाम्रो सम्मान छ ।

सो हमलापछि अमेरिकामा पनि ठूलो आतङ्क मच्चिएको थियो । उक्त आतङ्ककारी आक्रमणपछि अल कायदाका नेतालाई खोज्न अमेरिकाले इराक र अफगानिस्तानमा सेना पठाएको थियो ।

त्यसै समयबाट अल कायदाका नेता ओसामा बिन लादेनको खोजी सुरु भएको थियो र तीन वर्षअघि उनी पाकिस्तानमा मारिएका छन् । अमेरिकी प्रहरीले कारबाहीका क्रममा लादेनलाई मारेको हो ।

त्यसयता अफगानिस्तानमा अमेरिकी नेतृत्वमा नेटो सैनिक रहेका छन् भने इराकमा पनि सद्दाम हुसेन शासनको अन्त्य भइसकेको छ । रासस/एएफपी

 

प्रतिक्रिया