‘तराई आन्दोलनमा नृशंस र हिंस्रक छ’

इनेप्लिज २०७२ भदौ २५ गते १६:२२ मा प्रकाशित

काठमाडौँ, २५ भदो । गृह मन्त्रालयले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा तराईमा जारी आन्दोलनमा नृशंस र हिंस्रक गतिविधि भइरहेको बताएको छ ।

आज साँझ विज्ञप्ति जारी गरी मन्त्रालयले शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मी र उनीहरुको परिवारलाई यातना दिनेदेखि पेट्रोल छर्किएर हत्या गर्ने कलङ्कजन्य क्रियाकलाप भएको जनाएको छ ।

महोत्तरीको जलेश्वरमा मधेसी मोर्चाले आज परिचालित हिंस्रक जत्थाले सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक थमनबहादुर विकमाथि साङ्घातिक आक्रमण गरी घाइते बनाएको र विकलाई उपचारका लागि रेडक्रसको सहयोगमा जनकपुर ल्याउने क्रममा सोनुखडा भन्ने स्थानमा आन्दोलनकारीले एम्बुलेन्समा आगजनी गरी हत्या गरेको जनाइएको छ ।

त्यसैगरी महोत्तरीको जलेश्वरमा बिहानैदेखि अराजक, उत्तेजक र आपराधिक व्यक्तिले निषेधाज्ञा उल्लङ्घन गरी घरेलु हतियारले सुरक्षाकर्मीमाथि आक्रमण भइरहेको मन्त्रालयले जनाएको छ ।

धनुषामा पनि सुरक्षाकर्मीमाथि गाउँ गाउँबाट बालबालिका र महिलालाई मानव ढाल बनाई सरकारी कार्यालय तथा सार्जजनिक र निजी सम्पत्तिमाथि आगजनी र सुरक्षाकर्मीमाथि हातहतियार प्रयोग भएको मन्त्रालयले जनाएको छ । सो क्रममा प्रहरीले बल प्रयोग गर्दा एक प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया