सहिद स्मृति उद्यान पर्यटकको आकर्षक गन्तव्य

इनेप्लिज २०७२ भदौ २४ गते १३:५६ मा प्रकाशित

Rss_Images_1441885094354_CB-Jhapa-Park (2)काँकडभिट्टा (झापा), २४ भदौ । मेची अञ्चलको मुख्य व्यापारिक केन्द्र बिर्तामोड नजिकै रहेको सहिद स्मृति उद्यान बाह्य तथा आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्न थालेको छ ।

शनिअर्जुन नगरपालिका– ७ सालबारीस्थित २६ हेक्टर क्षेत्रफलमा यो उद्यान फैलिएको छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि पञ्चायतकालमा भएको आन्दोलनका क्रममा आफ्नो ज्यानको आहुति दिएका अमर सहिदहरुको स्मृतिलाई ताजा राख्न यो उद्यानको स्थापना भएको हो ।

उद्यानभित्र झापा किसान विद्रोहमा जीवन बलिदान गरेका पाँच सहिद वीरेन राजवंशी, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको पूर्ण कदको प्रतिमा छ । प्रतिमा स्थापना गरिएका पाँचैजना सहिदलाई पञ्चायती शासकहरुले २०२९ साल फागुन २१ गते झापाबाट इलाम जेल सार्ने निहुँमा सुखानी जङ्गलमा लगेर गोली हानी हत्या गरेका थिए ।

उद्यानभित्र रहेको पाँच सहिदको प्रतिमा यहाँ आउने पर्यटकको मुख्य आकर्षण बनेको उद्यान व्यवस्थापन समितिका अध्यक्ष वृखबहादुर प्रधान बताउनुहुन्छ । सालको घना जङ्गलभित्र उद्यानको मध्यभागमा रहेको अढाइ हेक्टर क्षेत्रफलको प्राकृतिक तलाउ पर्यटकका लागि अर्को आकर्षण हो ।

उद्यान व्यवस्थान समितिले तलाउमा पर्यटकलाई सयर गराउन चारवटा पाइडल डुङ्गाको व्यवस्था गरेको छ । उद्यानको स्थापना सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालले गरेको हो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले २०७० साल फागुन २१ गते सहिद स्मृति उद्यानको उद्घाटन गर्नुभएको थियो ।

“प्राकृतिक वातावरणले भरिपूर्ण उद्यान भएकाले टाढादेखि पर्यटक गाडी रिजर्भ गरी वनभोज खान, घुमफिर गर्न, तस्बिर खिचाउन, तलाउमा डुङ्गा सयर गर्न र तनावबाट मुक्त भएर मन बहलाउन यहाँ आउने गरेका छन्” शनिअर्जुन प्रेस क्लबका अध्यक्ष दिपीन राई भन्नुहुन्छ ।

गत वर्षदेखि सुखानी सहिद स्मृति प्रतिष्ठानले उद्यानभित्र पूर्वाञ्चलकै पहिलो कछुवा संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरेको छ । उद्यानले कछुवा राख्न छुट्टै सानो पोखरी बनाएको छ भने प्रजनन र बच्चा रेखदेखका लागि व्यवस्थित स्थानको निर्माण गरिरहेको छ ।

उद्यानमा हाल २५ वटा दुर्लभ जातका कछुवा संरक्षण गरिएको छ । “वातावरणीय विनाशका कारण कछुवा लोपोन्मुख हुँदै गएको छ,” शनिश्चरे गाविसका पूर्व अध्यक्ष हरि राना भन्नुहुन्छ – “उद्यानले संरक्षणको प्रयास थालेर प्रशंसनीय कार्य गरेको छ ।”

कछुवा हेर्नकै लागि कतिपय पर्यटक तथा विद्यार्थी यहाँ आउने गरेका छन् । हराउँदै गएको प्राणीमध्येको कछुवाको संरक्षण नै केन्द्रको मूल उद्देश्य भएको कछुवा संरक्षण तथा प्रजनन केन्द्रका प्रमुख नवीन भट्टराई बताउनुहुन्छ ।

उद्यानमा पाँच जातका कछुवा संरक्षण गरिएका छन् । यहाँ रहेका पहेँलो टाउको भएको सुन कछुवा, ढकनी खवटे कछुवा र मयुरपङ्खी नरम खबटे कछुवाको पहिचान भएको छ भने अन्य दुई जातको पहिचान हुन बाँकी रहेको भट्टराईले जानकारी दिनुभएको छ ।

हाल प्रतिष्ठानभित्र कछुवा प्रजनन केन्द्रको निर्माण धमाधम भइरहेको र बाल उद्यानका लागि आवश्यक सामग्री आउन बाँकी रहेको उहाँले बताउनुभयो । संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न चार फिट अग्लो तथा छ फिट लामो फाइवरबाट निर्मित कछुवाको आकर्षक प्रतिमा राखिएको छ ।

कछुवाको प्रतिमा हेर्न र तस्बिर खिचाउन बालबालिकाको घुइँचो लाग्ने गरेको उद्यानकी कर्मचारी रोजिना पाण्डे बताउनुहुन्छ । मनोरम वातावरण, तलाउ र रमणीय आकर्षणका कारण पर्यटकको आगमन आगामी दिनमा झन बढ्दै जाने उहाँ बताउनुहुन्छ ।

आव २०७१÷७२ मा ४६ हजार ८४५ पर्यटकले सहिद स्मृति उद्यानको अवलोकन गरेका छन् । उद्यान प्रवेश गर्दा गत आवमा रु १० को शुल्क तिर्नुपर्ने प्रावधान थियो । साउनदेखि प्रवेश शुल्क रु १५ बनाइएको छ ।

दैनिक औसत डेढ सय जनाको हाराहारीमा पर्यटक आउने गरेको र नयाँ वर्ष, भ्यालेन्टाइन दिवस, शनिबार र चाडबाडका बेला यहाँ घुइँचो लाग्ने गरेको छ । गत आवमा उद्यानले प्रवेश टिकट बिक्रीबाट रु चार लाख ६१ हजार २३०, डुङ्गा सयरबाट रु एक लाख ५० हजार, वनभोजबाट रु एक लाख सात हजार २०० र माछा बिक्रीबाट रु एक लाख आम्दानी गरेको कार्यालय प्रमुख रमेश भट्टराई बताउनुहुन्छ ।

पूर्वी नेपालको प्रवेशद्वार काँकडभिट्टा र मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडबाट सबैभन्दा नजिकमा रहेको पर्यटकीय आकर्षणको प्राकृतिकस्थल नै यही उद्यान हो । व्यवस्थापन समितिले उद्यानभित्र एक हेक्टर क्षेत्रफलमा बाल उद्यान निर्माण गर्न थालेको छ ।

यहाँ पर्यटकलाई बस्न फलैचा, चौतारो र हवाई घरको निर्माण गरिएको छ । सरकारी सहयोगमा ३५ मिटर लामो झोलुङ्गे पुल समेत निर्माण भइरहेको छ । सहिद स्मृति उद्यान पुग्न बिर्तामोडबाट कालोपत्र सडक नभएको र नियमित सार्वजनिक यातायातका साधन नचल्ने भएकाले कठिनाइ हुने गरेको छ ।

दिनहुँ सयौँ पर्यटक आउने स्थल भएकाले उद्यानभित्र अस्थायी सुरक्षा पोस्ट राखिएको छ । “उद्यान अत्यन्त रमणीय लाग्यो”, इलाम–२ बाट सपरिवार घुम्न आएकी सुनगाभा विकास संस्थाकी उपाध्यक्ष यशोदा देवान भन्नुहुन्छ – “प्रचारप्रसार हुन सके यहाँ आन्तरिक मात्र होइन बाह्य पर्यटकसमेत आउने निश्चित छ ।”

उद्यानको भौतिक पूर्वाधार विकासका लागि पर्यटन कार्यालय काँकडभिट्टाले समेत सहयोग गरिरहेको छ । गत आवमा कछुवाको प्रतिमा स्थापना, पोखरीको छेउमा फलैँचा, दुईवटा भ्यू पार्क र बाल उद्यान निर्माणका लागि रु १० लाख खर्च गरिएको छ ।

विगतमा अनकन्टार जङ्गल रहेको यस क्षेत्रमा उद्यान निर्माण भएपछि चहलपहल बढेको र स्थानीवासीले गुजाराका लागि होटल समेत सञ्चालन गर्न थालेका छन् ।

प्रतिक्रिया