नासा/आन्मा सम्मेलन ऐतिहासिक रूपमा सम्पन्न

इनेप्लिज २०७२ भदौ २३ गते १२:११ मा प्रकाशित

11988583_10207712212630407_8022884673428986169_n[1]

नर्थ क्यारोलिना, सेप्टेम्बर ८ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिना राज्यमा नेपालीहरूका दुई बृहद संगठन नासा र आन्माको संयुक्त सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूको सशक्त संगठन नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका (नासा) र मध्य पश्चिमी राज्यहरूमा बस्ने नेपालीहरूको छाता संगठन एशोसियसन अफनेप्लिज इन मिडिल वेष्ट अमेरिका एन्मा) को संयुक्त एघारौं सम्मेलन सेप्टेम्बर ४ शुक्रबारदेखि ६ तारिख आइतबारसम्म नर्थ क्यारोलिना राज्यको ग्रिन्सबोरो र हाइप्वाइन्ट सहरमा भब्य रूपमा सम्पन्न भएको हो ।

नर्थ क्यारोलिनाको हाइ प्वाइन्ट र ग्रिन्सबोरोस्थित नेपालीहरूको प्रतिनिधिमूलक संस्था ट्रायड नेप्लिज कम्युनिटी सेन्टर (टीएनसीसी) को आयोजनामा भएको सम्मेलनको उदघाटन अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीले गर्नुभएको थियो । सम्मेलनमा नासाका अध्यक्ष डा. राम चन्द्र बराल , आन्मा का अध्यक्ष शुसिल शर्मा , गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. केशव पौडेलसाथै नासा–एन्माका सदस्यहरू लगाएत विभिन्न राज्यमा क्रियाशिल संघसंस्थाका प्रतिनिधि, सञ्चार माध्यम, सञ्चारकर्मी, बुद्धिजीवी, ब्यवसायी एवं अमेरिकामा रहनुहुने सबै पेसा, क्षेत्र, तह र तप्काका झन्डै एक हजारभन्दा बढी नेपालीहरूको उपस्थिति रहेको थियो । विगत लामो समयदेखि हरेक वर्ष हुँदै आएको यो सम्मेलन यस पटक नेपालको भूकम्पपीडित क्षेत्रमा पुनर्निर्माणमा सहयोग संकलनकोमुख्य उद्धेश्यका साथ आयोजना गरिएको थियो ।

सम्मेलनले नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका (नासा) को आगामी दुईवर्षे कार्यकालका लागि विमल नेपाल (फ्लोरिडा) को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नेपाल दुई सय ५९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी माधव ढकाल (नर्थ क्यारोलिना) ले एक सय ८३ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी कार्यकारी उपाध्यक्षमा दुई सय ६७ मत प्राप्त गरी शैलेन्द्रबज्राचार्य (जर्जिया) निर्वाचित हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी विशाल भारती (नर्थ क्यारोलिना) ले एक सय ६६ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी उपाध्यक्षमा ताराप्रसाद पुन मगर (जर्जिया) विजयी हुनुभएको छ । मगरले दुई सय ४९ र उहाँका प्रतिद्वन्द्वी अम्बिका लोहनी (जर्जिया) ले एक सय ९१ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी महासचिवमा शिव बिष्ट (नर्थ क्यारोलिना) विजयीहुनुभएको छ । बिष्टले दुई सय ५० मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्वन्द्वी प्रसिम पौडेल (नर्थ क्यारोलिना) ले एक सय ७२ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै सह-सचिवमा झिनो मत अन्तरले कृष्ण श्रेष्ठ (फ्लोरिडा) विजयी हुनुभएको छ । श्रेष्ठले दुई सय १३ र उहाँका प्रतिद्वन्द्वी मोहन बिष्ट (जर्जिया)ले दुई सय एघार मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी कोषाध्यक्षमा पशुपतिन्यौपाने (जर्जिया) दुई सय ७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी रमा घिमिरे (जर्जिया)ले एक सय ६३ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा सबैभन्दा अत्यधिक मत सदस्य पदका उम्मेदवार डा.निरोज बस्नेत (नर्थ क्यारोलिना)ले प्राप्त गर्नुभएको थियो । उहाँ तीन सय ३९ मत प्राप्त गरी विजयी हुनुभएको छ । अन्य सदस्यहरूमा उद्धव कार्की (नर्थ क्यारोलिना), कृष्णराजदेवकोटा (जर्जिया), सुशील नेपाल (नर्थ क्यारोलिना), गजेन्द्र अर्याल (मेरिल्यान्ड), डा. सुमन सिलवाल (अलाबामा), चुडामणि खनाल (फ्लोरिडा), डा. मनोज झा (नर्थ क्यारोलिना), योगेश्वर कार्की (जर्जिया), भुवन खनाल (नर्थ क्यारोलिना), मनीष शाक्य (साउथ क्यारोलिना), नरेन्द्र बराल (साउथ क्यारोलिना), विध्या गुरुङ (जर्जिया), गिर्वाणराज पाण्डे (जर्जिया) र सतीशचन्द्र गुप्ता (साउथ क्यारोलिना) विजयी हुनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन आयुक्त डा.प्रल्हाद पन्तले सपथ ग्रहण गराउनुभएको थियो ।

तीन दिवसीय सम्मेलनको पहिलो दिन आयोजक संस्था टीएनसीसीले सहभागीहरूलाई स्वागतसहित डिनर तथा परिचय र भेटघाटका साथै नेपाली चलचित्र ‘अझै पनि ” प्रदर्शन गरिएको थियो । त्यसक्रममा टीएनसीसीका अध्यक्ष नारायण खड्का र सम्मेलन आयोजक समितिका संयोजक माधव ढकालले सम्मेलनमा सहभागी हुन आउनुभएका अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । सम्मेलनमा विभिन्न प्रतियोगितात्मक खेलकुदका साथै कविता प्रतियोगिता, फेसन, सांस्कृतिक प्रस्तुती, कन्सर्ट, स्वास्थ्य, शिक्षा, साहित्यलगायत नेपालसम्बन्धी विशेष कार्यक्रमहरू गरिएका थिए । बालशिक्षा तथा खेलकुद, युवा, महिला, कानुनी, समाज तथा कल्याण, सञ्चारलगायतका विषयमा गैरआवासीय नेपाली संघ (एनआरएन), आदिवासी जनजाति संघ, अन्तर्राष्ट्रिय साहित्य समाजलगायतका संघसंस्थाहरूले छुट्टाछुट्टै विभिन्न कार्यक्रम आयोजनागरेका थिए ।

सम्मेलनमा नेपालबाट आएका ख्यातिप्राप्त र चर्चित कलाकारहरूको उपस्थितिमा विशेष सांगीतिक सन्ध्या आयोजना गरिएको थियो । सांगीतिक सन्ध्यामा बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा र न्यूह बज्राचार्य, गायकहरू रामकृष्ण ढकाल, सत्य–स्वरूप आचार्य, आस्था राउत, अरूण कार्की, वशन्त खड्का ,कैलाश कायस्थ , समीर आचार्य, दीपेन्द्र अर्यालका साथै विभिन्न राज्यहरूबाट आएका सहभागीहरूले पनि नेपाली कला र संस्कृति प्रस्तुत गरेका थिए ।

12003382_10154113803426490_8983256354304193905_n[1]बिशाल भारती र नगेन सोतांगले संयोजन गरेका सांगीतिक कार्यक्रमको संचालन बिशाल भारती , संचारकर्मी सुर्य थापा र निलम भारतीले आकर्षक शैलीमा गरेका थिए साथै साँस्कृतिक कार्यक्रमको संयोजन प्रदिप क्रिस घिमिरे र शिव बिष्टले गरेका थिए भने संचालन रिचा घिमिरे र दिपक रानाभाटले आकर्षक शैलीमा गरेका थिए । कार्यक्रममा डिजे गोर्खालीले उपस्थित युवायुवतीलाई विभिन्न गीतसंगीत मा नचाएका थिए । सम्मेलनकै क्रममा सम्मेलनमा उपस्थित बरिष्ठ सञ्चारकर्मीबीच ‘अमेरिकामा नेपाली पत्रकारिता’का विषयमा समेत छलफल भएको थियो । छलफलमा अमेरिकामा रहेर नेपाली पत्रकारिता गर्दै आउनुभएका सगरमाथा टेलिभिजनका संस्थापक राम खरेल, डीसी नेपालका खेम भट्टचन र ह्वाइट हिमाल टिभीका शैलेश श्रेष्ठले अमेरिकामा नेपालीपत्रकारिताको अवस्थाकारे आफ्नो अनुभव सुनाउनुभएको थियो ।

त्यसक्रममा अमेरिका–नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष तथा सञ्चारकर्मी सानुबाबु सिलवाल र सञ्चारविज्ञ डा.प्रदीप भट्टराईले अमेरिकामा नेपाली पत्रकारितालाई संस्थागत बनाउन सकिने विषयमा सुझावसहित आ–आफ्ना धारणा राख्नुभएको थियो । सो कार्यक्रमको सभापतित्व सम्मेलन का मिडिया संयोजक शिव बिष्ट ले गर्नुभएको थियो । कार्यक्रममा किरण मरहट्टा, सुर्य थापा , हेमन्त श्रेष्ठ,, ,बिश्वोराज थापा , खेम भट्टचन , निल खड्का लगाएतका संचारकर्मीहरु उपस्थिति रहेको थियो ।सम्मेलनमा नेपाल हेरिटेज सेन्टर निर्माण को लागि करिब ५ हजार डलर संकलन भएको कुरा टियनसीसी का पुर्व सभापति बशन्त 12002179_10154113802926490_8392658585575222645_n[1] खड्काले बताउनु भएको थियो ।

अमेरिकामा रहेका नेपालीहरूका विभिन्न संगठनहरूमध्ये नासा र आन्माको संयुक्त सम्मेलनलाई निकै पृथक र ब्यवस्थित मानिँदै आएको छ । यसअघि नासा र आन्माको छैठौं सम्मेलन सन् २०१० मा केन्टकीमा, सातौं सम्मेलन सन् २०११ मा जर्जियामा, आठौं सम्मेलन सन् २०१२ मा इन्डियानामा, नवौं सम्मेलन सन् २०१३ मा साउथ क्यारोलिनामा र दसौं सम्मेलन २०१४ मा कोलोराडोमा सम्पन्न भएको थियो । त्यसैगरी बाह्रौं सम्मेलन आउँदो वर्ष मिसौरी राज्यको सेन्ट लुइस सहरमा हुने भएको छ ।

प्रतिक्रिया