पाठ्यपुस्तक बिना नै विद्यार्थी परीक्षामा

इनेप्लिज २०७२ भदौ २३ गते २:१३ मा प्रकाशित

20150415407266-600x0बाजुरा, २३ भदौ । बाजुराका पूर्वीत्तर ११ गाउँ विकास समितिका सबै विद्यालयमा कक्षा छ देखी १० सम्मका विद्यार्थीको हातमा यस शैक्षिकसत्रमा पाठ्यपुस्तक बिना नै परीक्षामा सहभागी भएका छन् ।

नयाँ शैक्षिकसत्र सुरु भएको पाँच महिना बितिसक्दासमेत विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । जनक शिक्षा सामग्रीले पर्याप्त पुस्तक जिल्लामा ल्याउन नसक्नु र पुस्तक डिपोलाई ढुवानीको रकम तिर्न नसकेपछि यो समस्या आएको हो । जिल्लाका अधिकांश विद्यालयमा यो साताबाट अर्धवार्षिक र त्रैमासिक परीक्षा सञ्चालन भइरहेका छन् । “परीक्षा सञ्चालन त भयो तर विद्यार्थीले पुस्तक बिनै परीक्षा दिएका छन्”–शम्भु सुनन्दा उच्च माविका जुकोटका विद्यार्थी चरित्रले बताए ।

जिल्लामा विद्यार्थी भर्ना अभियान सञ्चालन भएको पाँच महिना भइसकेको छ । “जनक शिक्षा सामग्री केन्द्रले पर्याप्त मात्रामा पाठ्यपुस्तक पुर्‍याउन नसक्दा पुस्तकबिनै परीक्षा दिएका छौँ”–जिल्लाको दुर्गम विच्छयाँ माविका दिनेश बुढाले भने । उनले थपे–“परीक्षा त सञ्चालन भयो तर हामीले किताबै पाएका छैनौँ । हरेक वर्ष विच्छयाँले किताव पाउँदैन अनि हाम्रो पढाइ कस्तो होला ? यो समस्या समयमै सरकारले बुझिदिनुप¥यो हाम्रो भविष्य बिग्रिन लागिसकेको छ ।”

जिल्लाका जुकोट, वाई, रुगिन, विच्छ्याँ, कोल्टी, साप्पाटा, पाण्डुसैन, गोत्री, जगन्नाथ, कोटिला, बाँधु र कोटिला गाविसमा पाठ्यपुस्तक जान सकेको छैन । गत वर्षको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा कक्षा १ देखि १० सम्म ८० हजार सेट पुर्‍याउनुपर्नेे थियो तर केही विषयका पाठ्यपुस्तक नपाएरै विद्यार्थीले परीक्षा दिनुपरेको थियो । जिल्ला शिक्षा कार्यालय बाजुराले पाठ्यपुस्तकको रकम विद्यालयको खातामा समयमा पठाएको थियो । विद्यालयले पनि पाठ्यपुस्तक किन्नका लागि सम्बन्धित बिक्रेतालाई दिइसकेको भए पनि बिक्रेताले समयमै नपुर्‍याएको शिक्षकले बताउने गरेका छन् ।

विद्यालयमा भर्ना भएको लामो समय बितिसक्दासमेत पाठ्यपुस्तक विद्यार्थीले पाउन सकेका छैनन् । जनक शिक्षा सामग्रीले जिल्लामा कक्षा ६ देखि कक्षा १० सम्मको एक लाख सेट पुर्‍याउनुपर्ने भए पनि तोकिए जति पु¥याउन नसकेको र सदरमुकाममा किताब ल्याएर छोड्दा मार्तडीबाट कोल्टीसम्मको प्रतिकेजी रु २१ तिर्नु पर्नेमा केन्द्रले नौ रुपैयाँ मात्र दिने निर्णय गरेपछि यो समस्या आएको हो कोल्टीमा रहेको एकता पुस्तक डिपोका नरेश शाहीले बताउनुभयो ।

जनक शिक्षा सामग्री केन्द्रको डिलरबाट टाढा ढुवानी गर्न नपर्ने केही पुस्तकका एजेन्टले मात्र सबै किताब पुर्‍याए पनि जिल्ला दुर्गम गाविसका विद्यार्थीले भने पुस्तक पाउन सकेका छैनन् । “हामीले सरकारले दिएको पैसासमेत समयमा दिएका थियौँ तर किताब आउन सकेका छैन”– शम्भु सुनन्दा उमावि जुकोटका प्राचार्य गोविन्दबहादुर शाहले भन्नुभयो ।

जिल्लामा दुई सय २३ बालविकास केन्द्र, दुई सय ७१ सामुदायिक विद्यालय, २७ संस्थागत र तीनवटा स्नातक क्याम्पस रहे पनि धेरै शिक्षण संस्थामा भने पुस्तक बिनै पढाइ सञ्चालन हुने गरेको भेटिन्छ । पाठ्यपुस्तक अपुगकै कारण जिल्लामा शिक्षाको नतिजा सोचेजति राम्रो नआएको शिक्षकको भनाइ छ ।

प्रतिक्रिया